मिरिक, 04 जनवरी (हि.स.)। मिरिकको सौरेनी समष्टि अन्तर्गत घैयाबारी चियाबारीको शान्ति टोलमा निर्माण गरिएको सार्वजनिक भवनको आज विधिवत रूपमा उद्घाटन जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। कार्यक्रममा अनित थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, जीटीए सभाका चेयरम्यान अञ्जुल चौहान, कार्यकारिणी सभासदहरू अरूण सिंगची, रतन थापा, सभासदहरू मिलेश राई, धुर्ब बम्जन, मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोले आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीएका मुख्य कार्यपाल अनित थापाले घैयाबारीवासीलाई बधाई दिए। उनले यस क्षेत्रको सार्वजनिक भवनलाई विवाह अनि मरौमा मात्र प्रयोग नगरेर विविध कार्यक्रमहरू गरेर स्याहार सुसार गरिदिन आह्वान गरे। सार्वजनिक भवन निर्माण जनसाधरणले सरकारलाई दिएको करको रकमले नै निर्माण भएको बताउँदै गुटबाजी नगरी भवनको संरक्षण गर्ने उनले अपील गरे। उनले कार्यकारिणी सभासद अरूण सिंगचीको प्रशंसा गर्दै मिरिक क्षेत्रमा सबैभन्दा धेर विकास हुने समष्टि सौरेनी रहेको बताए।
काम गर्ने मान्छेबाट भूल हुन्छ, तर उनले समष्टिवासीको निम्ति जुन कार्यहरू सभासदले गरिरहेका छन् त्यो प्रशंसा योग्य रहेको बताए। उनले मिरिक क्षेत्रमा भागोप्रमो पार्टी केही दुर्बल भएको तर अब यसलाई बलियो बनाउने समय आएको भन्दै भागोप्रमो मिरिक महकुमाका अध्यक्ष धुर्व बम्जनलाई अनि सचिव सतीश थापाको नाम घोषणा गरे। यसरी नै सौरेनी समष्टिका अध्यक्ष अरूण सिंगची अनि सचिव विनय सुब्बाको नाम घोषणा गरे।
अब उनीहरूलाई चाँडै नियुक्ति पत्र प्रदान गर्ने जीटीए सभाका चेयरम्यान अञ्जुल चौहानलाई आह्वान गरेका छन्। यसका साथै एक महिनापछि महकुमा समिति अनि समष्टि समितिको पूर्ण कमिटी गठन गर्ने उनले निर्देश पनि दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक