मुम्बई, १९ अक्टोबर (हि.स.)। महाराष्ट्रको नासिक रोड स्टेशन नजिक शनिबार राति मुम्बईको लोकमान्य तिलक टर्मिनसबाट बिहारको रक्सौलतर्फ जाँदै गरेको कर्मभूमि एक्सप्रेस ट्रेनबाट खस्दा दुई युवाको मृत्यु भएको छ र एकजना घाइते भएका छन्। घाइते युवकलाई हाल जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घटनाको अनुसन्धान नासिक रोड पुलिस स्टेशनको टोलीले गरिरहेको छ।
नासिक रोड पुलिस स्टेशनका वरिष्ठ निरीक्षक जितेन्द्र सपकालेका अनुसार, कर्मभूमि एक्सप्रेसबाट तीन युवक खसेको सूचना पाएपछि पुलिस उपनिरीक्षक माली र पुलिस जवान भोले सहितको टोली घटनास्थल पुगेको थियो। भुसावलतर्फ जाने रेलपटरीमा किलोमिटर १९०/१ र १९०/३ को बीचमा दुई युवकको शव र एक युवक गम्भीर अवस्थामा फेला परेका थिए। घाइते युवकलाई तुरुन्त जिल्ला अस्पतालमा पुर्याइयो।
मृतक र घाइते युवाहरूको परिचय अहिलेसम्म खुलेको छैन। दीपावली पर्वका कारण उत्तर भारततर्फ जाने रेलहरूमा अत्यधिक भीड भइरहेकाले प्रारम्भिक अनुमानअनुसार दैलोछेउ उभिएका ती युवाहरू भीडका कारण सन्तुलन गुमाई खसेका हुनसक्ने बताइएको छ। ती युवकहरू पर्व मनाउन बिहार फर्कंदै थिए वा विधानसभा निर्वाचनमा मतदान गर्न जाँदै थिए भन्ने विषय पनि पत्ता लगाइँदैछ।
-------------
हिन्दुस्थान समाचार / भवानी थामी