कोलकाता, 20 अक्टोबर (हि. स.)। काली पूजाको अवसरमा शहरका केही पण्डालहरूमा देवी कालीका मुर्तिहरूमा सजिएका सुन र चाँदीका गहनाहरूको सुरक्षाको निम्ति कोलकाता पुलिसले विशेष सुरक्षा व्यवस्था गरेको छ। पुलिसका एकजना वरिष्ठ अधिकारीले सोमवार उक्त आशयको जानकारी गराए।
यस वर्ष शहरका 48 वटा पूजा पण्डालहरूमा देवीका आभूषणहरूको सुरक्षाको जिम्मेवारी कोलकाता पुलिसले आफ्नो हातमा लिएको छ। यी पण्डालहरूमा राइफलधारी पुलिसकर्मी र अधिकारीहरूलाई तैनाथ गरिएको छ जसले पूजाको शुभारम्भदेखि विसर्जनसम्म सुरक्षाको जिम्मा सम्हाल्नेछन्।
अधिकारीले बताए, महँगो गहना भएका पूजा समितिहरूले पुलिससित अतिरिक्त सुरक्षाको माग गरेका थिए। कतिपय स्थानहरूमा गहनाहरूको मात्रा कम छ जहाँ आयोजकरूले निजी सुरक्षा गार्डलाई तैनाथ गरेका छन्।
पुलिस सूत्र अनुसार हरेक पण्डालमा तीन शिफ्टमा दुईजना राइफलधारी कान्स्टेबल लगातार ड्यूटीमा रहनेछन्। कतिपय पण्डालहरूमा एकजना अतिरिक्त सहायक निरीक्षक (एएसआई) पनि उपस्थित रहनेछन्। आयोजकहरूलाई पनि गहनाहरूको विशेष निगरानी राख्न भनिएको छ। केही समितिहरूले निजी सुरक्षासितै प्रवेश द्वारमा ब्यारिकेड गेट राखेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा