
डा. आर. बालाशंकर
आज राष्ट्रिय स्वयंसेवक संघका प्रकाशनहरू भारतका करिब सबै भाषामा प्रकाशित हुन्छन्, र भनिन्छ कि यी प्रकाशनहरूको संयुक्त प्रसार करिब बीस लाखको छेउछाउ छ। तीमध्ये अधिकांश प्रकाशनहरू आत्मनिर्भर छन्। यो आश्चर्यजनक कुरा हो कि एउटा यस्तो संगठन, जसले आफ्नो अस्तित्वका करिब चौथाई शताब्दीसम्म प्रचारप्रसारबाट टाढा रह्यो, आज भारतीय राष्ट्रिय आख्यानको केन्द्रमा आइपुगेको छ।
संघका संस्थापक डा. केशव बलिराम हेडगेवार भन्थे, “संघको कार्य नै बोल्नेछ, संघ प्रचारको पछि लाग्दैन।” सन् १९२५ मा विजयादशमीको दिन स्थापना भएपछि करिब २५ वर्षसम्म संघको कुनै प्रकाशन थिएन। यसले कहिल्यै प्रचारको इच्छा राखेन र यसको अधिकांश प्रचारक आज पनि साधारण जीवन बिताइरहेका छन्।
सुरुवातमा संघ मौखिक प्रचारमा निर्भर थियो। मूलतः यसको संगठन र सञ्जाल नै विचारधाराको प्रसार र संगठनात्मक कार्यशैलीको विकास गरिरहेका थिए। जसरी यो राष्ट्रिय स्तरमा एक वैचारिक शक्तिका रूपमा उदायो, त्यसरी नै यसको कार्यक्रम, नीति र दृष्टिकोणको स्पष्ट अभिव्यक्तिको आवश्यकता महसुस हुन थाल्यो। भारत विभाजनपछि महात्मा गान्धीको हत्या भएपछि संघबारे फैलाइएका झूट र भ्रमहरूले यसलाई आफ्ना अस्तित्वसम्बन्धी मूल्यहरू पुनः परिभाषित गर्न बाध्य बनायो।
शाखा सञ्जालको विस्तारसँगै राष्ट्रिय मुद्दाहरूमा आफ्नो दृष्टिकोण व्याख्या गर्न आवश्यक भयो। यसैले आफ्नै प्रकाशनहरूको आवश्यकता पर्यो, विशेष गरी त्यतिबेला जब मुख्यधाराको मिडिया संघका गतिविधिहरूप्रति कुनै सहानुभूति देखाउँदैनथ्यो। संघले राजनीति, श्रम र विद्यार्थी गतिविधिजस्ता नयाँ क्षेत्रहरूमा प्रवेश गर्यो। यसको शाखाहरू विश्वव्यापी विस्तारमा पुगे र प्रवासी भारतीयहरू पनि हिन्दुत्व दर्शनप्रति तीव्र रूपमा आकर्षित भए।
पण्डित दीनदयाल उपाध्याय, अटल बिहारी वाजपेयी र लालकृष्ण आडवाणीजस्ता नेताहरूले आफ्नो सार्वजनिक जीवन संघका प्रकाशनहरूको सम्पादकका रूपमा सुरु गरेका थिए। श्री गुरुजी गोलवलकर एक विपुल लेखक र वक्ता थिए। संघले पी. परमेश्वरन, के.आर. मलकानी, वी.पी. भाटिया, आर. हरि, एच.भी. शेषाद्रि, जय दुबाशी, एस. गुरुमूर्ति, राम माधव, भानुप्रताप शुक्ल, दीननाथ मिश्र, सुनील आंबेकर र जे. नन्द कुमारजस्ता प्रसिद्ध पत्रकार र लेखकहरूलाई जन्म दियो। सुरुमा संघका प्रकाशनहरू स्वयंसेवकहरूका लागि एउटा प्रशिक्षण मञ्च बने।
संघका पूर्व सह-प्रचार प्रमुख जे. नन्दकुमार, जो अहिले संघको थिंक ट्यांक प्रज्ञा प्रवाह का प्रमुख हुन्, का अनुसार संघसँग अहिले १५ मासिक र साप्ताहिक, ३९ जागरण पत्रिकाहरू, ४ दैनिक समाचारपत्र र १८ प्रकाशनहरू छन्। यसले “जनम” नामक टेलिभिजन समाचार च्यानल पनि सञ्चालन गर्छ। नन्दकुमारका अनुसार, संघले सामाजिक परिवर्तनका लागि निःस्वार्थ सेवामा जोड दिएको छ र परम्परागत रूपमा प्रचारप्रसारबाट टाडा रहँदै आएको छ। तर, केही निहित स्वार्थहरूले संघ र यसको आदर्शहरूविरुद्ध नकारात्मक र विकृत प्रचार चलाएपछि त्यसको प्रतिरोध गर्नका लागि संघले आफ्नो प्रचार विभाग स्थापना गर्नुपर्यो। त्यसैले राष्ट्रको सर्वोच्च हितमा सकारात्मक, राष्ट्रवादी दृष्टिकोण प्रस्तुत गर्नु संघका लागि अनिवार्य बन्यो। यो प्रचारप्रतिको यसको मूल दृष्टिकोणबाट विचलन होइन।
संघ पछिल्ला केही दशकदेखि भारतीय सार्वजनिक विमर्शमा प्रभावशाली रूपमा हावी रहँदै आएको छ र यसले भारतको सोचाइ र वैचारिक दिशा नै प्रायः परिवर्तन गरिदिएको छ। आज यसको सबैभन्दा ठूलो प्रकाशन सञ्जालहरू मध्ये एक छ, जसमा दैनिक पत्रपत्रिका, टेलिभिजन च्यानल, साप्ताहिक, पाक्षिक र मासिक पत्रिकाहरू समावेश छन्।यसका संगठनहरू अहिले सामाजिक सञ्जाल (सोसल मिडिया) को क्षेत्रमा पहिलेभन्दा धेरै सक्रिय छन्। त्यस्तो कुनै क्षेत्र छैन जहाँ संघको प्रचार शाखाले प्रवेश गरेको छैन। संघको आफ्नै नाममा प्रत्यक्ष कुनै प्रकाशन छैन। जस्तै सरसंघचालक मोहन भागवत प्रायः भन्छन्, “संघले केही गर्दैन, तर स्वयंसेवकहरू हरेक क्षेत्रमा प्रवेश गर्नेछन्।”संघका प्रकाशनहरूले प्रायः अर्थपूर्ण राष्ट्रिय बहसहरूलाई जन्म दिएका छन्, चाहे त्यो गोहत्या, गङ्गा शुद्धीकरण, स्वदेशी अभियान, राम जन्मभूमि आन्दोलन, अनुच्छेद ३७० को उन्मूलन, समान नागरिक संहिता, निर्वाचन सुधार वा वक्फ बोर्डका नाममा हुने अत्याचारका विषयमै किन नहोस्। स्वतन्त्रता प्राप्तिपछि १९४० को दशकको अन्त्यतिर संघले आफ्नो प्रकाशन यात्रा सुरु गर्यो, लखनऊबाट हिन्दी भाषामा ‘पाञ्चजन्य’ र दिल्लीबाट अङ्ग्रेजी भाषामा ‘अर्गनाइजर’ पत्रिकाको रूपमा। त्यसपछि १९५० को दशकको सुरुवातमै संघको ब्यानरअन्तर्गत धेरै क्षेत्रीय प्रकाशनहरू सुरु भए। आज संघका प्रकाशनहरू भारतका प्रायः सबै भाषामा प्रकाशित हुन्छन् र भनिन्छ कि यी प्रकाशनहरूको संयुक्त प्रसार करिब २० लाखको छेउछाउ छ।आज जब मुद्रित माध्यमहरू आफ्नो पाठक संख्या गुमाइरहेका छन्, संघका प्रकाशनहरूले आफ्नो प्रसार र पहुँच दुवै कायम राख्न सफल भएका छन्। मलयालम भाषाको साप्ताहिक ‘केसरी’ जस्ता पत्रिकाहरू विज्ञापनभन्दा बढी सदस्यता शुल्कमा निर्भर छन्, र यसको प्रसार अहिले एक लाखभन्दा बढी छ। समयसँगै यी प्रकाशनहरूले आफ्नो शैली, रूपरेखा र प्रकाशनको गुणस्तरमा उल्लेखनीय सुधार गरेका छन्। लगभग सबै प्रकाशनका अनलाइन संस्करण उपलब्ध छन् र तिनीहरू विश्वभरका लाखौं स्वयंसेवकहरूसम्म पुग्छन्।संघमाथि प्रतिबन्ध लागेको समयमा यसका प्रकाशनहरूलाई पनि तीनपटक प्रतिबन्धको सामना गर्नुपर्यो। तर प्रतिबन्ध हटेपछि तिनीहरूले फेरि आफ्नो पाठकवर्ग पुनः हासिल गर्न कुनै कठिनाइ व्यहोर्नुपरेन। संघका धेरैजसो प्रकाशनहरू निजी वा सार्वजनिक लिमिटेड कम्पनीहरूको नाममा दर्ता छन्। यी सबै आत्मनिर्भर छन् तर नाफा कमाउने उद्देश्य राख्दैनन्। यो सत्य यो हो कि भाजपा शासित राज्यहरूमा तिनीहरूलाई विज्ञापन सहयोग प्राप्त हुन्छ, तर जब कांग्रेस वा अन्य गैर-भाजपा दल सत्तामा हुन्छन्, त्यस्तो समर्थन दुर्लभ हुन्छ। लामो समयसम्म संघका प्रकाशनहरू र संघ-समर्थक पत्रकारहरू बहिष्कारको शिकार बने। कुनै प्रसिद्ध संघ कार्यकर्ताले पत्रकारितामा राम्रो रोजगारी पाउनु अत्यन्तै कठिन थियो। अहिले केन्द्र र धेरै राज्यहरूमा भाजपा सरकार हुँदा पनि यस्ता भेदभावहरू अझै पनि कहींकहीं देखिन्छन्।भारतीय मिडिया परिदृश्यमा वामपन्थी र कांग्रेस समर्थक पत्रिकाहरूको प्रभुत्वसँग तुलना गर्नु पनि रोचक छ। स्वतन्त्रतापछि धेरै दशकसम्म वामपन्थी र कांग्रेसपक्षीय प्रकाशनहरू नै मिडियामा हावी थिए। कम्युनिस्टहरूका हातमा ‘प्याट्रियट’, ‘लिंक’, ‘गणशक्ति’, ‘देशाभिमानी’, ‘जनयुगम’, ‘न्यू एज’ र ‘पीपल्स डेमोक्रेसी’ जस्ता पत्रिकाहरू थिए। यी प्रकाशनहरूलाई सोभियत संघ र भारत सरकार दुवैबाट पर्याप्त आर्थिक र संस्थागत समर्थन प्राप्त हुन्थ्यो। कांग्रेस सरकारले आफ्ना र वामपन्थी दुवै प्रकाशनहरूलाई ठूलो मात्रामा संरक्षण दियो। कांग्रेसका आफ्नै पत्रिकाहरू, ‘नेशनल हेराल्ड’, ‘वीक्षणम्’, ‘जय हिन्द टीभी’, ‘नवजीवन’ र ‘कौमी आवाज’ पनि थिए। तर करोडौं रुपियाँ लगानी हुँदाहुँदै आज तीमध्ये अधिकांश या त बन्द हुने अवस्थामा पुगेका छन्, या त पूरै हराइसकेका छन्।तर, संघका प्रकाशनहरू अझै पनि फस्टाइरहेका छन्। मुख्यतः त्यसकारण कि तिनीहरू कुनै सरकारी सहायता वा राजनीतिक संरक्षणमा निर्भर छैनन्। संघका प्रकाशनहरू सञ्चालन गर्नका लागि आवश्यक रकम मुख्य रूपमा यसको कार्यकर्ताहरूको योगदानबाट प्राप्त हुन्छ। आपतकाल (१९७५) भन्दा अघि भारत प्रकाशन, जसले अहिले अर्गनाइजर र पञ्चजन्य सञ्चालन गर्छ, ले राष्ट्रिय राजधानीबाट द मदरल्याण्ड नामक एक सफल अंग्रेजी दैनिक सुरु गरेको थियो। सो समयमा द मदरल्याण्ड र अर्गनाइजरमा प्रकाशित लेखहरूमा इन्दिरा गान्धीद्वारा आपतकाल र प्रेस सेन्सरशिप लागू गर्न उक्साएको आरोप लगाइएको थियो।आपतकालको अवधिमा द मदरल्याण्ड कार्यालयमा छापा मारियो, यसको प्रेस र मेसिनरी जफत गरियो, र सम्पादक के. आर. मलकानीलाई उनको सम्पादकीय टोलीसहित आन्तरिक सुरक्षा ऐन (मीसा) अन्तर्गत पक्राउ गरियो। त्यसपछिपनि संघले आपतकालविरुद्धको भूमिगत साहित्य उत्पादन र वितरणमा अग्रणी भूमिका खेलेको थियो। आपतकाल हटेपछि आर्थिक कठिनाइका कारण द मदरल्याण्डलाई पुनर्जीवित गर्न सकिएन। यद्यपि अर्गनाइजर र पञ्चजन्य पुनः प्रकाशित भए र यी प्रकाशनहरूको प्रभाव यति गहिरो थियो कि १९७० दशकको जयप्रकाश नारायण आन्दोलन प्रायः तिनकै प्रचारको परिणाम मानिन्छ। केहीले त १९७० दशकको अन्त्यतिर जनता पार्टीमा भएको विभाजनको कारणका रूपमा समेत अर्गनाइजरका लेखहरूलाई जिम्मेवार ठहराएका थिए।जहाँसम्म स्वामित्वको प्रश्न छ, संघले आफ्ना प्रकाशनहरूको सम्पादकीय नीतिमा प्रत्यक्ष हस्तक्षेप गर्दैन। सम्पादकहरूलाई पूर्ण स्वतन्त्रता दिइन्छ। म स्वयं १३ वर्षसम्म अर्गकनाइजरका सम्पादकको रूपमा कार्यरत रहेँ, र म यो दाबीका साथ भन्न सक्छु कि सम्पादकीय नीतिसम्बन्धी कुनै विषयमा ममाथि कहिल्यै दबाउ परेन। संघले प्रायः राष्ट्रिय मुद्दाहरूमा प्रतिक्रियाको जिम्मा आफ्ना प्रशिक्षित स्वयंसेवकहरूलाई दिन्छ, जसलाई सम्पादकका रूपमा नियुक्त गरिन्छ।
(लेखक भाजपाका अखिल भारतीय प्रशिक्षण तथा प्रकाशन विभागका सदस्य तथा अर्गकनाइजरका पूर्व सम्पादक हुन्।)
हिन्दुस्थान समाचार / बिशाल