
नयाँ दिल्ली, ०३ नोभेम्बर (हि.स.)।
भारतीय महिला क्रिकेट टोलीले ५२ वर्षको लामो प्रतीक्षापछि इतिहास रचेको छ। नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिएको फाइनल खेलमा हरमनप्रीत कौरको कप्तानीमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै आफ्नो पहिलो आईसीसी महिला एकदिवसीय विश्वकप उपाधि जितेको हो। भारतको यस ऐतिहासिक जितपछि पूरै देशमा खुशीको लहर फैलिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसहित विभिन्न राज्यका मुख्यमन्त्री र नेताहरूले भारतीय टिमलाई बधाई दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा भने, “आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को फाइनलमा भारतीय टिमको शानदार जित! फाइनलमा उनीहरूको प्रदर्शन अद्भुत सीप र आत्मविश्वासले भरिएको थियो। टिमले पूरै प्रतियोगिता भर उत्कृष्ट टिमवर्क र दृढता देखायो। हाम्रा खेलाडीहरूलाई हार्दिक बधाई! यो ऐतिहासिक जितले भविष्यका खेलाडीहरूलाई खेलमा सहभागी हुन प्रेरित गर्नेछ।”
गृहमन्त्री अमित शाहले लेखे,
“विश्व विजेता टिम इन्डियालाई सलाम! हाम्रा छोरीहरूले आईसीसी महिला विश्वकप २०२५ जितेर राष्ट्रलाई गर्वको क्षण दिएको छ। तपाईहरूको अद्भुत क्रिकेट क्षमताले लाखौं केटीहरूका लागि प्रेरणाको बाटो खोलेको छ।”
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने, “ऐतिहासिक विजय! विश्व विजेता भारतीय महिला क्रिकेट टिमलाई हार्दिक अभिनन्दन। देशवासीहरूलाई हृदयदेखि बधाई। तपाईहरू सबै देशको गौरव हुनुहुन्छ। भारत माता की जय!”
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भने, “विश्व विजेता भारतकी छोरीहरूले अथक परिश्रम, समर्पण र आत्मविश्वासले देशको मान बढाएका छन्। हामीलाई तपाईहरूमा गर्व छ।”
गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले लेखे, “भारतीय क्रिकेटका लागि कति शानदार पल! महिला विश्वकप २०२५ ट्रफी घर ल्याएबापत हाम्रो अद्भुत ‘वुमन इन ब्लू’ लाई बधाई। तपाईहरूको जाँगर, साहस र प्रतिभाले पूरै देशलाई गर्वित बनाएको छ। यो जित ती सबै युवतीहरूका लागि प्रेरणा हो, जसले ठूला सपना देख्ने साहस गर्छन्।”
भारतले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाको टिम ४५.३ ओभरमा २४६ रनमै समेटियो। दीप्ति शर्माले ५ विकेट लिइन् भने शेफाली वर्माले २ विकेट हात पारिन्। दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्वार्ड्टले १०१ रनको शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकिनन्।
महिला विश्वकपको सुरुवात १९७३ मा भएको थियो र २०२५ मा भारतले पहिलोपटक विश्व विजेता बनेर केवल खेल जगतमा होइन, पूरै राष्ट्रलाई गौरवान्वित बनाएको छ। देशभर उत्सवको वातावरण छ र यो ऐतिहासिक जित अब आउने पुस्ताका लागि प्रेरणाको प्रतीक बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी