भारतले रच्यो इतिहास: ५२ वर्षपछि पहिलो पटक महिला एकदिवसीय विश्वकप च्याम्पियन बन्यो टिम इण्डिया
Indian cricket women team


नवी मुम्बई, ०3 नोभेम्बर (हि.स.)।

भारतीय महिला क्रिकेट टोलीले अन्ततः ५२ वर्षको लामो प्रतीक्षाको अन्त्य गर्दै पहिलो पटक महिला एकदिवसीय विश्वकप (२०२५) जितेर इतिहास रचेको छ। हरमनप्रीत कौरको कप्तानीमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै आफ्नो नाम स्वर्ण अक्षरमा लेखाएको छ।

डीवाई पाटिल स्टेडियममा खेलिएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गर्दै भारतले ७ विकेटमा २९८ रनको मजबुत स्कोर बनायो। चोटका कारण बाहिर रहेकी प्रतिका रावलको स्थानमा आएको शेफाली वर्माले ७८ बलमा ८७ रनको शानदार पारी खेलिन्, जसमा ७ चौका र २ छक्का समावेश थिए।

दीप्ति शर्माले पनि ५८ बलमा ५८ रन बनाएर उत्कृष्ट साथ दिइन्।

शेफालीले स्मृति मन्धाना (४५) सँग पहिलो विकेटका लागि १०४ बलमा १०६ रन र जेमिमा रोड्रिग्स (२४) सँग ६२ रनको साझेदारी गर्दै भारतलाई बलियो सुरुवात दिइन्। अन्त्यमा रिचा घोषले २४ बलमा ३४ रनको तीब्र पारी खेल्दै रनगति कायम राखिन्।

दक्षिण अफ्रिकाका लागि आयोबोङ्गा खाका सर्वाधिक सफल बलर रहिन्, जसले ५८ रन खर्चेर ३ विकेट लिइन्।

२९९ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात कमजोर रह्यो, तर कप्तान लौरा वोल्वार्ड्टले ९८ बलमा १०१ रनको शानदार शतक प्रहार गरिन्। यद्यपि भारतीय बलरहरूले खेलको पासा पल्टाइदिए।

दीप्ति शर्माले जादुई प्रदर्शन गर्दै ५ विकेट लिइन्, जबकि शेफाली वर्माले २ महत्वपूर्ण विकेट झटकिन्।

दक्षिण अफ्रिकाको टोली ४५.३ ओभरमै २४६ रनमा अलआउट भई पराजित भयो र भारतले ५२ रनले ऐतिहासिक जित हासिल गर्‍यो।

भारतले इतिहासमै पहिलो पटक महिला क्रिकेट विश्वकप उपाधि जितेको हो। यसअघि भारत सन् २००५ र २०१७ का फाइनलसम्म पुगेको थियो तर जित्न सकेको थिएन। यस पटक कप्तान हरमनप्रीत कौरले टोलीलाई इतिहास रच्न नेतृत्व दिइन्।

दीप्ति शर्माले न केवल ५८ रन बनाइन्, तर पूरै प्रतियोगितामा १५ विकेट र २०० रन पुरा गर्दै एकदिवसीय विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो महिला खेलाडी बनिन्।

यो जित केवल एउटा उपाधि मात्र होइन, भारतीय महिला क्रिकेटका लागि नयाँ युगको सुरुवात हो — त्यो क्षण जब “ब्लू ब्रिगेड” ले संसारलाई देखायो कि अब महिला क्रिकेटमा पनि भारतको दबदबा स्थायी भइसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande