आईटीआई गेजिङमा सिकर्मी व्यापार प्रशिक्षण कार्यक्रम शुरू
आईटीआई गेजिङमा सिकर्मी व्यापार प्रशिक्षण कार्यक्रम शुरू


गान्तोक, 4 नोभेम्बर (हि.स.)। राज्य वाणिज्य एवं उद्योग विभागले औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई) गेजिङमा पीएम विश्वकर्म योजना अन्तर्गत सिकर्मी (कारपेन्टर) व्यापार प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। यस कार्यक्रमको उद्घाटन आज राजधानीस्थित उद्योग भवनको मिनी कन्फ्रेन्स हलबाट भर्चुअल माध्यमद्वारा गरियो। कार्यक्रमको उद्घाटन विभागकी सचिव कर्म डी. युत्सोले गरिन्। यस अवसरमा विभागका निदेशक एम. राविकुमार पनि उपस्थित थिए।

सचिव युत्सोले कौशल विकासको महत्वमाथि प्रकाश पार्दै प्रशिक्षार्थीहरूलाई यस अवसरबाट भरपुर फाइदा उठाउन आह्वान गरिन्। उनले सिकर्मी काममा राम्रो आय आर्जनको धेरै सम्भावना रहेको बताउॅंदै स्थानीय कारीगरहरूलाई यस क्षेत्रमा राज्यलाई आत्मनिर्भर बनाउन कुशल र राम्ररी सुसज्जित बन्न आह्वान गरिन्।

उनले प्रशिक्षार्थीहरूलाई पीएम विश्वकर्म योजनाको फाइदा उठाउन सुझाउ दिॅंदै यसमा अनुदानित ब्याजदरमा एक लाख रूपियॉंसम्मको धितो-रहित ऋणमा पहुँच, नि:शुल्क टुलकिट तथा व्यापार मेला र प्रदर्शनीहरूमा भाग लिने अवसरहरू समावेश रहेको जानकारी गराइन्।

विभागका निदेशक रविकुमारले स्थानीय उद्यमीहरूका लागि प्रशिक्षण आयोजना गरिरहेकोमा आईटीआई गेजिङलाई बधाई दिए। उनले सहभागीहरूलाई आफ्नो प्राविधिक सीपलाई सुदृढ पार्न प्रशिक्षणलाई प्रभावकारी रूपमा लागू गर्न सल्लाह दिए। विभागले कारीगरहरूलाई उनीहरूको उद्यम विस्तार गर्न मार्केटिङ र प्रवर्द्धनमा सहयोग गरिरहने उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande