
खरसाङ, 9 नोभेम्बर (हि.स.)। जिम्मेवार पर्यटनको विषयवस्तुका साथ आज खरसाङ विन्टर रनको दोस्रो संस्करण सम्पन्न गरियो। गत वर्षदेखि शुरु गरिएको खरसाङ विन्टर रनको दोस्रो संस्करण आज बिहान खरसाङको डाउहिल क्षेत्रमा भव्यताको साथमा सम्पन्न भयो।
खरसाङ विन्टर रन खरसाङ महकुमा खेलकूद संघ र एथलेटिक्स क्लब खरसाङको आयोजना तथा जीटीए, खरसाङ महकुमा, खरसाङ पञ्चायत समिति, एसबीआई, विद्युत् विभाग, खरसाङ वन विभाग, खरसाङ टुरिज्म एण्ड कन्जरभेशन आदिको सह आयोजना एवं सहयोगमा सम्पन्न गरियो। खरसाङ विन्टर रन यसपाली पुरुष र महिला गरी जम्मा 14 वटा क्याटोगरीमा आयोजना गरिएको थियो, जसमा 10 किलोमिटर, 5 किलोमिटर, 3 किलोमिटर आदि रहेका थिए। पहिलो संस्करणको खरसाङ विन्टर रनमा 600 जनाले सहभागिता जनाएका थिए भने यसपाली जम्मा 852 जनाले सहभागिता जनाएका छन्।
कार्यक्रममा आज प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। यस खरसाङ विन्टर रनको 15 किलोमिटरका धावकहरुलाई प्रमुख अतिथि लगायत राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री, पूर्व खरसाङ महकुमा शासक एवं रायगञ्जका अतिरिक्त जिल्लापाल आईएएस बिन्दबासिनी तेजा दिपक, वर्तमान खरसाङ महकुमा शासक प्रिया गुप्ता आदिले झण्डा देखाएर शुरु गरेका थिए। यसैगरी, अन्य वर्गका प्रतिस्पर्धाहरू पनि पालैपालो आमन्त्रित अतिथिहरूले झण्डा देखाएर शुरू गरेका थिए।
खरसाङ विन्टर रन अन्तर्गत 15 किलोमिटरको खुल्ला पुरुष वर्गमा प्रथम पञ्चनन बेरा, दोस्रो डम्बर बस्नेत, तेस्रो पुरण राई भए भने 10 किलोमिटर खुल्ला महिला वर्गमा प्रथम तापसी सिंह, दोस्रो प्रिया तामाङ र तेस्रो अनिता दास भए। त्यसरी नै 45 वर्षदेखि माथि उमेर अन्तर्गत 10 किलोमिटरको पुरुष वर्गमा प्रथम प्रवेश तामाङ, दोस्रो निमेस छेत्री र तेस्रो सुवर्ण सुब्बा भए भने महिला वर्गमा प्रथम सरस्वती राई, दोस्रो अनुदा तामाङ र तेस्रो निता लेप्चा भए।
यसरी नै 16 वर्षमुनिका केटाहरूका लागि 10 किलोमिटर वर्गमा प्रथम इसाद तामाङ, दोस्रो सोयाङ तामाङ र तेस्रो समलाहाङ राई भए भने केटी वर्गमा प्रथम जोया खातुन, दोस्रो प्रशंसा विश्वकर्म र तेस्रो इमानुएला नेकियगा भएका छन्। 5 किलोमिटर ओपेन महिला वर्गमा प्रथम बन्दना सुब्बा, दोस्रो प्रिया छेत्री र तेस्रो पूर्णिमा नन्दी भए भने पुरुष वर्गमा प्रथम मिनाल प्रसाद, दोस्रो आयुसराज सुब्बा र तेस्रो रितिक गुरुङ भए।
यस क्रममा 5 किलोमिटर 45 वर्षमाथिका पुरुष वर्गमा प्रथम कर्म शेर्पा, दोस्रो कृष्ण तामाङ र तेस्रो कर्म टी. भोटिया भए भने महिला वर्गमा प्रथम प्रीति तामाङ, दोस्रो खान्डु डोमा भोटिया र तेस्रो लक्ष्मी राई भएका छन्। यसरी नै 5 किलोमिटर 16 वर्षमुनिका केटा वर्गमा प्रथम निहाल तामाङ, दोस्रो विश्वास देवान र तेस्रो अजय राई भए भने केटी वर्गमा प्रथम वानी भुजेल, दोस्रो अवन्तिका राई र तेस्रो आयेसा खातुन भए।
खरसाङ विन्टर रनको दोस्रो संस्करण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पूर्व खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले सबैको साथ र सहयोगले खरसाङ विन्टर रनको दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न भएको बताए। उनले सबैको टिम वर्कले जिम्मेवार पर्यटनको लागि खरसाङ विन्टर रनको दोस्रो संस्करण खूबै असल ढंगले सम्पन्न भएको र आगामी दिनमा पनि खरसाङ विन्टर रन यसरी सफल हुँदै जानेमा विश्वास व्यक्त गरे।
खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले पहिलो खरसाङ विन्टर रन दिगो पर्यटनको उद्देश्यका साथ आयोजना गरिएको, जसमा 600 जनाले सहभागिता जनाएका थिए भने यसपाली जम्मा 852 जनाले सहभागिता जनाएको बताए। उनले खरसाङमा पर्यटन साथै खेलकूदलाई अघि लैजानलाई यो कदम चालिएको र यसलाई सफल बनाउने सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
सभासद श्याम शेर्पाले खरसाङ विन्टर रन सफलतापूर्वक सम्पन्न भएको र यसले अझ वृहत रुप लिएको बताए। उनले यसको सफलताको लागि सबैलाई धन्यवाद दिए। कार्यक्रममा खरसाङका सुपुत्र एवं राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइएको थियो।
हिन्दुस्थान समाचार / हनोक