सुकनामा खसहरूको वार्षिक साधारण सभा एवं अभिनन्दन कार्यक्रम
सुकनामा खसहरूको वार्षिक साधारण सभा एवं अभिनन्दन कार्यक्रम


खरसाङ, 9 नोभेम्बर (हि.स.)। खस भारतीय हितकारी सम्मेलन सुकना शाखाको वार्षिक साधारण सभा एवम् अभिनन्दन कार्यक्रम आज सुकना पार्ट टु स्थित सार्वजनिक भवनमा शाखाका अध्यक्ष मेघनाथ छेत्रीको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि च्याँगा पानीघट्टा अञ्चलिक समितिका अध्यक्ष रवीन छेत्री र अतिथि रवि छेत्री (आञ्चलिक समितिका कार्यकारी सदस्य) उपस्थित थिए।

वार्षिक साधारण सभा एवम् अभिनन्दन कार्यक्रममा शाखा सचिव दुर्गाप्रसाद रिजाल (दुर्गा शर्मा) ले सचिवको लिखित प्रतिवेदन र शाखाका कोषाध्यक्ष तथा केन्द्रिय समितिका संयुक्त सचिव कृष्ण छेत्रीले शाखाको आय-व्ययको प्रतिवेदन पेश गरेपश्चात सर्वसम्मतिद्वारा अनुमोदन गरियो। अभिनन्दन कार्यक्रम अन्तर्गत 80 वर्षभन्दा धेर उमेर भएका सुकना शाखाका खस वरिष्ठ नागरिकहरू पूर्णमाया छेत्री, सीता छेत्री, मणिकुमारी दाहाल, टेकबहादुर दाहाललाई वरिष्ठ नागरिक सम्मान २०२५ द्वारा सुशोभित गरिएको थियो।विगतमा शाखामा उत्कृष्ट योगदान दिएवापत् शाखाका पूर्व सचिव दिलीप छेत्रीलाई पनि सम्बर्द्धना जनाइयो।

यस वर्ष २०२५ को दशौँ र बाह्रौं श्रेणीका बोर्ड परीक्षाहरूमा सत्तर प्रतिशतभन्दा धेर अङ्क ल्याएर उत्तीर्ण गर्ने मेधावी विद्यार्थीहरु जयदीप छेत्री, कृष्ण छेत्री, मेनुका छेत्रीलाई पनि सम्बर्द्धनासहित पुरस्कृत गरियो। केही वर्षअघिदेखि शाखाको अक्षय कोषका संयोजकको रुपमा सेवा गर्दा-गर्दै निधन भएका स्वर्गीय सिमल छेत्रीलाई पनि मरणोप्रान्त विशिष्ट सेवा सम्मानद्वारा विभूषित गरियो।

सभामा प्रमुख अतिथि रविन छेत्रीले खस भारतीय हितकारी सम्मेलनले गरिरहेका सांगठनिक गतिविधिहरूको जानकारी दिँदै खसहरुको दीर्घ दिनको जनजातिको मान्यताको मागलाई पनि सरकारले सकारात्मक दृष्टिकोणले हेरिरहेको बताए। उनले सांसद कोषबाट सिलगढीको बाघडुग्रा गोसाईँपुरमा निर्माण भएको खस भवनबारे पनि जानकारी दिए।

आफ्नो सम्बोधनमा शाखा अध्यक्ष मेघनाथ छेत्रीले खसहरूको एकता अखण्डता र संस्कार-संस्कृतिको संरक्षण र सम्बर्द्धनमा सबैले ध्यान दिनुपर्ने कुरो बताए। खस भारतीय हितकारी सम्मेलन सबैको हित गर्ने संस्था भएकोले संस्थाको नाम आधारमा हाम्रो काम पनि सबैको हित गर्ने नै हुनुपर्ने कुरोमा उनले जोड दिए।

सभामा पुरानो कार्यकारी समितिलाई विघटन गरेपछि च्याँगा पानीघट्टा आञ्चलिक समितिका अध्यक्ष रविन छेत्री बास्तोला सभापति र केन्द्रिय समिति उपाध्यक्ष जे.बी. बस्नेत, धुर्व छेत्री, तिलक छेत्री रहेको चार सदस्यीय चुनाउ समितिले शाखाको नयाँ कार्यकारिणी समिति गठन गरिएका थिए, जसमा सभापति मेघनाथ छेत्री, सचिव दुर्गाप्रसाद रिजाल, कोषाध्यक्ष कृष्ण छेत्री लगायत अन्य पदाधिकारीहरू चयन गरिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande