
नयाँ दिल्ली, १६ दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उत्तर प्रदेशको मथुरा शहरमा यमुना एक्सप्रेसवेमा भएको भीषण सड़क दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उक्त दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। प्रधानमन्त्रीले दुर्घटनाका पीडितहरूका लागि अनुग्रह राशि घोषणा गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले आज सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत यमुना एक्सप्रेसवेमा भएको दुर्घटनामा मानिसहरूले ज्यान गुमाउनु अत्यन्त दुःखद भएको बताएका छन्। उनले आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपियाँ अनुग्रह सहायता प्रदान गरिने तथा घाइतेहरूलाई ५० हजार रुपियाँ सहयोग दिइने घोषणा गरेका छन्।
उल्लेखनीय छ, आज बिहान दिल्ली–आगरा यमुना एक्सप्रेसवेमा मथुरा जिल्लाको क्षेत्रमा सात वटा बस र तीन वटा कार ठोक्किँदा भीषण आगलागी भएको थियो, जसका कारण ठूलो जनधनको क्षति भयो। दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिएका छन्। स्थानीय अधिकारीहरूका अनुसार, बाक्लो कुहिरोका कारण सातवटा बस र तीनवटा कार आपसमा ठोक्किएपछि ती सवारीसाधनमा आगो लाग्यो। हालसम्म छ जनाको मृत्यु पुष्टि भएको छ र २५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। एक्सप्रेसवेका प्रभावित भागमा यातायात अस्थायी रूपमा रोकिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी