मुख्यमन्त्री उत्तर–पूर्वी क्षेत्रको कृषि सम्बन्धी उच्चस्तरीय टास्क फोर्सको तेस्रो बैठकमा सहभागी बने
PS Tamang


गान्तोक, 24 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधवार उत्तर–पूर्वी क्षेत्रको कृषि सम्बन्धी उच्चस्तरीय टास्क फोर्सको तेस्रो बैठकमा सहभागिता जनाए। भिडियो कन्फरेन्समार्फत आयोजित यस बैठकको अध्यक्षता केन्द्रिय डोनर मन्त्री ज्योतिरादित्य सिन्धियाले गरेको थियो। उक्त जानकारी आज मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा साझा गरेका छन्।

मुख्यमन्त्रीले बैठकमा उच्चस्तरीय टास्क फोर्सको प्रतिवेदनमा समावेश प्रमुख सिफारिसहरूबारे छलफल गरिएको बताएका छन्, जसको मुख्य उद्देश्य उत्तर–पूर्वी क्षेत्रमा कृषि मूल्य शृंखला सुदृढ़ गर्नु रहेको थियो। बैठकमा फसल उत्पादनशीलता वृद्धि, कटनीपछिका क्षति न्यूनीकरण, मूल्य अभिवृद्धि तथा प्रशोधन विस्तार, र बजार पहुँच सुदृढ़ गर्ने रणनीतिहरूमाथि चर्चा भएको पनि उनले अवगत गराएका छन्।

यसका साथै फसलहरूलाई मेरुदण्ड, विकास–प्रेरक, प्रिमियम तथा उदीयमान श्रेणीमा प्राथमिकता निर्धारण गर्ने, जीआई–अर्गानिक क्लस्टर विकास, सटीक कृषि अपनाउने, कोल्ड–चेन र लगिस्टिक्स पूर्वाधार सुदृढ़ गर्ने लगायत वित्त, प्रविधि र निवेशमा पहुँच सुधार गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी गराएका छन्।

बैठकमा दीर्घकालीन संरचनागत चुनौतीहरू समाधान गर्न र प्रतिवेदनका अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन सिफारिसहरूलाई ‘विकसित भारत २०४७’ को दृष्टिकोण अनुरूप मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्न केन्द्र, राज्य तथा सम्बन्धित संस्थाहरूबीच समन्वित कार्यको आवश्यकतामा पनि जोड दिएको मुख्यमन्त्रीले बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande