बंगलादेशमा ‘फासीवादी’ तत्वहरू चुनाउ लड्न नपाउने, नामांकन पत्र किन्न खोजे पक्राउ गरिने
सांकेतिक।


ढाका, 29 दिसम्बर (हि.स.)। बंगलादेशमा आगामी वर्ष हुने आम निर्वाचनमा ‘फासीवादी’ तत्वहरूले भाग लिन नपाउने भएका छन्। यस्ता व्यक्तिहरूले यदि नामांकन पत्र किन्न खोजे भने तत्काल पक्राउ गरी कानुनी कारबाही गरिने निर्देशन पुलिसलाई दिइएको छ। गृह मन्त्रालयले अशान्ति फैलाउने धेरै उम्मेदवारहरूलाई नामांकन पत्र दर्ता गर्नबाट वञ्चित गरिएको जनाएको छ।

द डेली स्टारको रिपोर्टअनुसार, चुनाउसम्बन्धी विषयमा आइतबार सम्पन्न उच्चस्तरीय बैठकमा कडा निर्णयहरू लिइएका छन्। बैठकसँग परिचित एक स्रोतका अनुसार, “आरोपित व्यक्ति जति नै प्रभावशाली किन नहोस्, उनीविरुद्ध कडा कानुनी कारबाही गरिने निर्णय गरिएको छ।” बैठकमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानको सुरक्षाबारे पनि छलफल भयो र ढाका तथा राजधानी बाहिर हुने उनका सार्वजनिक कार्यक्रमहरूमा सुरक्षा व्यवस्था कडा पार्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।

गृह मन्त्रालयका स्रोतले भने, “इन्कलाब मंचले नयाँ–नयाँ मागहरू अघि सारिरहेको छ। यस मंचमाथि कडा निगरानी आवश्यक छ।” बैठकपछि गृह सल्लाहकार लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) जहाँगीर आलम चौधरीले पत्रकारहरूसँग कुरा गर्दै कानून तथा व्यवस्था कुनै पनि हालतमा बिग्रन नदिइने बताए। उनले यसका लागि कडा निर्णय लिइएको स्पष्ट पारे। साथै उनले सबै राजनीतिक दलहरूलाई “फासीवादी तत्वहरूबाट टाढा रहन” आग्रह गरे।

चौधरीका अनुसार, 13 देखि २६ दिसम्बरसम्मको अवधिमा कुल ९,९९३ जनालाई पक्राउ गरिएको छ। यस अवधिमा ठूलो परिमाणमा हतियार, ग्रेनेड, मोर्टार शेल, बारुद, पटाका तथा बम बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको छ। लक्ष्मीपुर पुलिसले २६ दिसम्बरमा जिल्ला निर्वाचन कार्यालयमाथि भएको आक्रमणका मुख्य संदिग्ध रुबेललाई पक्राउ गरेको छ।

खुलना शहरमा जातीय श्रमशक्ति संगठनका केन्द्रिय आयोजक ४२ वर्षीय मोतालिब सिकदरको हत्यासम्बन्धी घटनामा डीके शमीम उर्फ ढाकैया शमीमसहित तीन जना संदिग्ध पक्राउ परेका छन्। साथै, मयमनसिंहमा भएको दीपु चन्द्र हत्या प्रकरणमा १८ जना संदिग्धलाई पक्राउ गरिएको गृह सल्लाहकारले जानकारी दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande