बलुचिस्तान रेल आक्रमणमा पाकिस्तानले भारतमाथि लगायो गम्भीर आरोप
बलुचिस्तान रेल आक्रमणमा पाकिस्तानले भारतमाथि लगायो गम्भीर आरोप


इस्लामाबाद, 15 मार्च (हि.स.)। पाकिस्तानी सेनाले बलुचिस्तानमा जफर एक्सप्रेसमा भएको आक्रमणलाई लिएर भारतमाथि गम्भीर आरोप लगाएको छ। पाकिस्तानी सेनाका प्रवक्ता डीजी आईएसपीआर लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बलुचिस्तानमा आतङ्कवादलाई भारतबाट आर्थिक सहयोग भइरहेको र यो आक्रमण पनि त्यही नीतिको एक हिस्सा रहेको दाबी गरेका छन्।

शुक्रवार बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीसँगको पत्रकार सम्मेलनमा जनरल चौधरीले हाम्रो पूर्वी छिमेकी (भारत) पाकिस्तानमा आतङ्कवादलाई प्रवर्द्धन गर्ने रणनीतिमा काम गरिरहेको बताए। उनले बलुचिस्तानमा हुने आतङ्कवादी हमलाको जरा भारतमा रहेको आरोप लगाए।

पाकिस्तानी मिडिया जियो टीभीका अनुसार जनरल चौधरीले भने, 'बलुचिस्तानमा भएको आक्रमण र रेल अपहरण घटनाको मुख्य प्रायोजक भारत हो। जफर एक्सप्रेसको घटना भारतको आतङ्कवादलाई प्रवर्द्धन गर्ने नीतिको एक हिस्सा हो, जुन सीमापारबाट योजनाबद्ध रूपमा गरिएको थियो।'

उनले थप भने, आतङ्ककारीहरूले दुर्गम पहाडी क्षेत्रमा विस्फोट गराएर रेल रोके र यात्रीहरूलाई बन्धक बनाए। उनले दाबी गरे, भारतीय मिडियाले यस घटनामा गलत प्रचार फैलाउन एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरेर नक्कली भिडियोहरू बनाए र पाकिस्तानलाई बदनाम गर्ने प्रयास गरे।'

यद्यपि, भारतले यी आरोपहरूको बारेमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। पाकिस्तान सरकारका आफ्नै नागरिकहरूले बलुचिस्तानमा स्वतन्त्रता र अधिकारको माग गरिरहेकाले पाकिस्तानका यस्ता दाबीहरूलाई विगतमा अन्तरराष्ट्रिय मञ्चहरूमा समर्थन मिलेको छैन।

उल्लेखनीय छ, मंगलवार पाकिस्तानको बलुचिस्तान प्रान्तमा विद्रोही समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले जफर एक्सप्रेस रेल रोकेर यात्रीहरूलाई बन्धक बनाएको थियो। बोलन जिल्लाको दुर्गम पहाडी सडकमा 440 भन्दा बढी यात्रीहरूलाई बन्धक बनाइएको थियो। एक दिनभन्दा बढी समयसम्म चलेको लडाईपछि पाकिस्तानी सुरक्षा बलले रेललाई मुक्त गराएको थियो।

पाकिस्तानी सेनाले 50 आक्रमणकारी मारेको दाबी गरेको छ। यस घटनामा 21 यात्रु र चार सुरक्षाकर्मीको पनि ज्यान गएको छ। यो घटना विश्वभर पाकिस्तानी सेना र सरकारको लागि लज्जाको कारण बन्दै गएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande