खरसाङ, 27 अप्रेल (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आइतवारदेखि स्व दिवस लामा स्मृति अण्डर 17 खरसाङ प्रीमियर लिग फुटबल टुर्नामेन्ट शुरु भएको छ। खरसाङको चानमारी खेल मैदानमा भइरहेको स्व दिवस लामा स्मृति अण्डर 17 खरसाङ प्रीमियर लिग फुटबल टुर्नामेन्टको पहिलो दिनको पहिलो चरणमा दुईवटा खेलहरु सम्पन्न भयो।
पहिलो खेल युनाइटेड खरसाङ फुटबल क्लब र आईटीआई टुंगमाझ सम्पन्न भयो। यस खेलमा युनाइटेड खरसाङ फुटबल क्लब सजिलै बिजय बन्यो। त्यसरी नै दोस्रो खेल हिल फुटबल एकाडेमी र नयाँ बस्ती फुटबल क्लबमाझ सम्पन्न भयो, जसमा हिल फुटबल एकेडेमी सजिलै बिजय बन्यो।
स्व दिवस लामा स्मृति अण्डर 17 खरसाङ प्रीमियर लिग फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल आगामी 1 मईको दिन सम्पन्न हुने बताइएको छ। दोस्रो चरणमा हुने दुईवटा खेलमा पहिलो खेल युकेएफसी र नयाँ बस्ती फुटबल क्लबमाझ अनि दोस्रो खेल हिल फुटबल एकेडेमी र आईटीआई टुंगमाझ सम्पन्न हुनेछ। यस टुर्नामेन्टको तेस्रो चरण एवं फाइनल खेल आगामी 3 मईको दिन हुनेछ।
स्व दिवस लामा स्मृति अण्डर 17 खरसाङ प्रीमियर लिग फुटबल टुर्नामेन्टलाई स्व दिवस लामाका पिता मोहन लामा (मोक्तान) र उनको परिवारले प्रायोजित गरेका छन्। खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले खरसाङ क्षेत्रका फुटबलप्रेमी नानीहरुलाई फुटबलमा अघि लैजानका लागि यो अण्डर 17 खरसाङ प्रीमियर लिग फुटबल टुर्नामेन्ट आयोजना गरिएको बताए।
उनले यस टुर्नामेन्टमा खरसाङ क्षेत्रका विद्यालयहरुका नानीहरुले पनि भाग लिने आशा गरिएको, तर एकदमै कम्ती टिमले भाग लिएको बताए। उनले यसपाली सहभागिता कम भए पनि आगामी वर्ष अझ धेरै टिमहरुले सहभागिता जनाउने आशा व्यक्त गरे।
हिन्दुस्थान समाचार / हनोक