गान्तोक, 30 मई (हि.स.)। भारतीय अलैंची अनुसन्धान संस्थानको (आइसीआरआइ) मसला बोर्ड अनुसन्धान प्रभाग, तादोङ क्षेत्रीय केन्द्रद्वारा मगन प्रभागीय कार्यालयसँगको संयुक्त तत्वावधान 29 मईको दिन जङ्गुको गोर-साङदोङमा र 30 मईको दिन तिबुक-माङशिलामा ठूलो अलैंचीमाथि मसला क्लिनिकका साथमा सामग्री वितरण कार्यक्रम आयोजित गरियो।
मसला क्लिनिकको नेतृत्त्व आइसीआरआइ, क्षेत्रीय केन्द्रका वैज्ञानिक एवं प्रभारी डा. जोन जो भर्गिसद्वारा गरिएको थियो। साथमा वैज्ञानिक डा. एसएस बोरा अनि मगन प्रभागीय कार्यालयका सहायक निर्देशक डा. पुभी रूस्तो पनि सामेल थिए। वैज्ञानिकहरूलाई कृषि समुदायसँग नजिकबाट संवाद गर्न सहयोग गर्ने हिसाबले यस्तो व्यावहारिक पहल कृषकहरूका ठूलो अलैंची बगानमा आयोजित गरिएको थियो।
क्लिनिकमा, वैज्ञानिकहरूले रोगका लक्षण, कीरा लागेको तथा पोषणको कमी छुट्याउने व्यावहारिक तकनिकी प्रदर्शित गरी देखाए। यस्ता विषयलाई सामान्य रोगका रूपमा कृषकहरूले प्रायः नै गल्ती गर्दै उपचार गर्ने गरेको कुरामाथि उनीहरूले बल दिए। बोटको स्वास्थ्यसित सम्बन्धित समस्याको मूल कारण सही तरिकाले खुट्याउँदै सावधानीका साथ निगरानी गर्नुपर्ने महत्त्वमाथि उनीहरूले जोड दिए।
कृषकहरूलाई ठूलो अलैंचीको खेतीका लागि विशेष रूपमा तयार गरिएको उत्तम कृषि प्रथा (जीएपी) बारे प्रशिक्षण प्रदान गरियो। यस प्रथामा गुणस्तरीय बिरुवाका साथमा सन्तुलित पोषणको प्रबन्धनकमो महत्त्वलाई सामेल गरिएको छ। कृषकहरूले जैविक पदार्थको प्रयोग गर्दै पर्यामैत्री तरिकाले कीराको प्रबन्धन गर्नका साथमा दिगोपन अनि उन्नत उब्जनीमाथि ध्यान केन्द्रित गर्नुपर्ने विषयमा पनि जानकारी हासिल गरे।
कार्यक्रमकै अंशका रूपमा मसला बोर्ड अनि आइसीआरआइद्वारा 65 जना अलैंची कृषकलाई बायो-क्याप्सुलका रूपमा सूक्ष्म पोषण अनि ट्राइकोडर्मा एसपीपी पनि वितरण गरियो। कृषकहरूलाई यी सामग्रीहरूको समुचित प्रयोग तथा फाइदाहरूबारे पनि विस्तारका साथ मार्गदर्शन गराइयो।
उक्त सामग्री मसलामाथि अखिल भारतीय समन्वित अनुसन्धान परियोजनाको (एआइसीआरपी) पूर्वोत्तर क्षेत्र पार्वत्य कार्यक्रम अन्तर्गत आपूर्ति गरिएको थियो। कार्यक्रमलाई आइसीएआर-आइआइएसआरले कार्यान्वयन गरिरहेको छ भने सिक्किमको हिमाली क्षेत्रमा आइसीआरआइले ठूलो अलैंचीका लागि कार्यान्वयन अभिकरणको काम गरिरहेको छ।
गोर-साङदोङको कार्यक्रममा स्थानीय एनजीओ मुताञ्ची लोम आल शेजुमकी (एमएलए) कार्यकारी निर्देशक श्रीमती मार्मित लेप्चाले भाग लिँदै कृषकहरूका तर्फबाट आभार व्यक्त गरिन्। जङ्गु क्षेत्रमा जागरूकता पहलका साथै सहायताहरूका माध्यमद्वारा ठूलो अलैंचीको खेतीलाई सहयोग गर्ने मसला बोर्डको अविचल प्रतिबद्धताको पनि उनले सराहना गरिन्।
यसै गरी, तिबुक-माङशिलाको कार्यक्रममा तिबुक दूध उत्पादक सहकारी समितिका अध्यक्ष एवं ठूलो अलैंची कृषक जसराज लिम्बूले कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गरे। क्षेत्रका कृषि समुदायको आजीविका बढाउने दिशामा मसला बोर्डले खेलिरहेको भूमिकाको पनि उनले प्रशंसा गरे।
यस्ता कार्यक्रमले सिक्किमभरी ठूलो अलैंचीको खेतीमा दिगो विकास अनि अनुकूलन सुनिश्चित गर्न वैज्ञानिकतम लोकसम्पर्क, कृषकहरूलाई शिक्षाका साथमा सामग्रीको सहयोगको महत्त्वपूर्ण भूमिकालाई रेखाङ्कित गर्दछ।
हिन्दुस्थान समाचार / बिशाल