जीर्णावस्थामा गिताङ्गे प्राथमिक पाठशाला भवन, जीटीएबाट नयाँ भवन निर्माणको‌ आशा
जीर्णावस्थामा गिताङ्गे प्राथमिक पाठशाला भवन


तीनधारे, 22 जून (हि.स.)। खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको गिताङ्गे चियाबारीमा रहेको प्राथमिक पाठशाला एकदमै जीर्णावस्थामा पुगेको छ। उक्त गिताङ्गे प्राथमिक पाठशाला भनेको जस्तो मरमत्ति नगरिएको कारणले एकदमै जीर्णावस्थामा पुगेको छ। पानी झरी र हावाले छाना उप्काएर पाठशाला झनै जीर्णावस्थामा पुगेको छ।

केही दिनदेखि परिरहेको अविरल पानी र हावाले गिताङ्गे प्राथमिक पाठशालाको छाना उप्काएर क्षतिग्रस्त बनाएको स्थानीयहरुले बताएका छन्। सन् 1985 मा स्थापना भएको यस पाठशाला भवन जीर्णावस्थामा पुगेकाले नानीहरुको पढाईमा पनि धेरै असुविधा भइरहेको जानकारी प्राप्त भएको छ। अहिले यस पाठशालामा जम्मा 11 जना विद्यार्थीहरु रहे पनि शिक्षक शिक्षिकाहरु भने कम रहेको बताइएको छ‌‌।

अहिले यस पाठशालामा एकजना स्थायी शिक्षिका र एकजना एडहक शिक्षक छन्। स्थानीय साजन थापाले पाठशालाको यस्तो दयनीय अवस्थालाई हेरेर जीटीएका प्रमुख कार्यपाल अनित थापा र डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान समक्ष नयाँ पाठशाला भवन निर्माण गरिदिन निवेदन गरेका छन्।

उनले यो पाठशालाको नयाँ भवन निर्माण हुन सके यस क्षेत्रका नानीहरुको शिक्षामा उन्नति हुने र पठन पाठनमा‌ उन्नति‌ हुने बताएका छन्‌। उनले सम्पूर्ण गिताङ्गे क्षेत्रका जनसाधारणको तर्फबाट जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान चौहानले‌ नयाँ भवन निर्माण गरिदिए‌ धेरै असल‌ हुने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande