खरसाङ, 08 जून (हि.स.)। पेडल फेस्ट खरसाङ अन्तर्गत आइतवार माउण्टेन बाइक रेस (एमटीबी) प्रतियोगिता आयोजना गरियो। आजदेखि शुरु भएको समर फेस्टिवल 2025 को पहिलो दिन उक्त माउण्टेन बाइक रेस प्रतियोगिता आयोजना गरिएको हो। यो प्रतियोगिता खरसाङ एमटीबी राइड्स र दार्जिलिङ हिमालयन रेलवेको आयोजना तथा जीटीएको पर्यटन विभागको सहभागितामा आयोजना गरिएको थियो।
प्रतियोगिता सुकनादेखि खरसाङको गिद्ध पहाडस्थित रक गार्डन भ्यु पोइन्टसम्म आयोजना गरिएको थियो। बिहान 8:30 बजीतिर सुकना फरेष्टको म्युजियम क्षेत्रबाट शुरु गरिएको प्रतियोगितालाई सुकनामा एनएफ रेलवेको एडीआरएम, डीएचआरको निर्देशक रिशप चौधरी र जीटीए पर्यटन विभागको फिल्ड अफिसर डा. दावा शेर्पाले झण्डा हल्लाएर शुरुवात गरेका थिए।
सुकनाबाट राष्ट्रिय राजमार्ग 110 भएर रंगटङ्ग हुँदै तीनधारे, घैयाबारी र महानदीपछि गिद्ध पहाडको रक गार्डनस्थित भ्यु पोइन्टमा आएर समाप्त भयो। यसमा जम्मा 35 जनाले सहभागिता जनाएका थिए भने 5 जनाले फन राइडरको रुपमा भाग लिएका थिए। यसमा सिक्किमको रानीपुल निवासी अनुस शेर्पा प्रथम, सिक्किमको रानीपुल निवासी गणेश प्रसाई दोस्रो भएका छन् भने दार्जिलिङ निवासी हेमन्त पौड्याल तेस्रो भएका छन्। सबै प्रतियोगीहरुलाई गिद्ध पहाडस्थित पारितोषिक वितरण गरियो।
यस अवसरमा मुख्य अतिथिको रुपमा जीटीएको पर्यटन विभागका एमओडी सभासद नुरी शेर्पा उपस्थित रहेका थिए। यसैगरी, विशिष्ट अतिथिको रुपमा सभासद श्याम शेर्पा, खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधान र नारी शक्ति खरसाङ महकुमा समितिकी सचिव जैतुन निशा खातुन उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक