नशालु पदार्थ वर्तमान समयमा चुनौतीको विषय बनेको छः मन्त्री राजु बस्नेत
गान्तोक, 08 जून (हि.स.)। पाकिम जिल्ला अन्तर्गत सिकोनको प्रेक्षागृहमा राजधानीमा सञ्चालित अनन्त थिएटरको पहलमा आज अनन्त कविता संगम सिजन- 2 पद्मश्री तुलाराम उप्रेतीको स्मृतिमा आयोजना गरियो। यस अवसरमा शिक्षा विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा मन्त्री अरूण उप्रेती, पूर्व मन्त्री केएन उप्रेती, पूर्व विधायक यम प्रसाद शर्माको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय र महाविद्यालयस्तरको कविता प्रतियोगिता आयोजना गरिएको थियो। निर्णायक मण्डलीहरूलमा पत्रकार प्रविण खालिङ, कञ्चनजङगा राज्य विश्वविद्यालयका सहायक प्रध्यापक डा. सुचन प्रधान र शिक्षिका मनिका शर्मा रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री राजु बस्नेतले तुलाराम उप्रेतीलाई पद्मश्री पुरस्कारले सम्मानित गर्दा राज्यका सबै जनाले गौरावन्तित महसुस गरेको बताए। उनले पहाडी क्षेत्रमा कृषि उत्पादन गर्नु एउटा चुनौतीको विषय रहेको हुनाले समतलमा जस्तो पहाडमा सहज प्रकारले खेती उत्पादन गर्न नसकिने बताए।
हा सिक्किम राज्यमा कम मानिसहरूले मात्र खेतीमा चासो लिएर उत्पादन गरिरहेको हुनाले अधिक जमीन अहिलेसम्म पनि बाँझो रहेको अवगत गराए। जस्तो सुकै चुनौती आए तापनि कृषि क्षेत्रलाई निरन्तरता दिनुपर्ने उनको भनाई रहेको थियो। मन्त्री बस्नेतले प्रसङ्ग फेर्दै वर्तमान परिपेक्ष्यमा राज्यमा नशालु पदार्थ एक चुनौतीको विषय बन्दै गएको र यसको समाधानको निम्ति सबैले निःस्वार्थ भावना राखेर पहल गर्नुपर्ने आग्रह गरे।
यसै क्रममा कार्यक्रमका विशिष्ठ अतिथि मन्त्री अरूण उप्रेतीले यदि साँचो धेयले पद्मश्री तुलारामलाई श्रद्धाजली अर्पण गर्नु हो भने सबै जनाले जैविक खेतीलाई अप्नाउनु पर्ने सुझाउ राखे। कार्यक्रम मात्र गरेर उनले देखेको सपना पूरा नहुने भएकाले सबै जना खेतीमा लागेर उनको सपना पूरा गर्नुपर्ने उनले आग्रह गरे।
मन्त्री उप्रेतीले विद्यार्थीहरूलाई प्रतिभासँगै शिक्षालाई पनि प्राथमिकता दिएर भविष्य उज्जवल बनाउन सुझाउ दिए। पद्मश्री तुलारामले देखाएको बाटोमा अघि बढ्न सकेमा मात्र उनको सपना पूरा हुने बताए। सिक्किम राज्य जैविक राज्यको नामले देश-विदेशमा चिनिन्छ, तर यहाँका मानिसहरूले खेतीपातीको काम गर्न नसकेको कारण राज्य बाहिरबाट साग सब्जी लगायत अन्य वस्तुहरू आयात गरिनु पर्ने अवस्था रहेको बताए। जैविक उत्पादनको मूल्य अधिक भएको कारण स्थानीयहरूले राज्य बाहिरबाट ल्याइएको सस्तो मूल्यमा सामग्री किन्ने गरेको हुनाले मूल्यमा सन्तुलन बनाउन आवश्यक रहेको उनले विचार व्यक्त गरे।
उल्लेखनीय छ, गत वर्ष 2023 मा स्वार्गीय तुलारामलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मान जनाएको थियो। उनको जैविक खेतिप्रतिको योगदानलाई सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो। पद्मश्री तुलारामले जीवनभरि नै जैविक खेतीलाई प्राथमिकता दिँदै काम गरे वापत उनको नाम पद्मश्री पुरस्कारको निम्ति छनौट भएको थियो। आजको यस कार्यक्रममा पद्मश्री तुलारामको जीवनमा आधिरित अनन्त थिएटरको पहलमा एक नाटक पनि मञ्चन गरियो।
हिन्दुस्थान समाचार / प्रदीप