गान्तोक, 13 जुलाई (हि.स.)। नेपाली साहित्य परिषद् सिक्किमको आयोजनामा आज गान्तोकस्थित भानु उद्यानमा २११औँ भानु जयन्ती समारोह सम्पन्न भयो। कार्यक्रममा मुख्यअतिथिका रूपमा राज्यपाल ओमप्रकाश माथुर तथा विशिष्ट अतिथिका रूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए।
पञ्चकन्याद्वारा मङ्गलाचरणको प्रस्तुतिसँगै कार्यक्रम आरम्भ भएपछि उपस्थित मुख्य अतिथि एवम् विशिष्ट अतिथि, मन्त्रीगण, विभागीय प्रमुख, विभागीय पदाधिकारी लगायत उपस्थित मानिसहरूद्वारा आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिएको जानकारी आईपीआर विभागले विज्ञप्तिमा दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि राज्यपाल ओमप्रकाश माथुरले भानुभक्तप्रति श्रद्धा सुमन अर्पण गर्दै भानुभक्तले नेपाली भाषाको विकासमा पुऱ्याएको योगदानको स्मरण गरे। यसअतरिक्त उनले भानुभक्त आचार्य नेपाली साहित्य जगतमा अमरत्वको प्रतीक रहेको बताउॅंदै भानु जयन्ती केवल सांस्कृतिक उत्सवमात्र नभएर यो सम्पूर्ण नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने पर्वको रूपमा रहेको बताए।
यस्ता कार्यक्रमहरूको संरक्षण एवम् संवर्द्धन गर्न हामी सबैको उत्तरदायित्व रहने र भाषा बाँचेमात्र त्यससँग सम्बन्धित सभ्यता, परम्परा र मूल्यमान्यता जीवित रहने उनले बताए। राज्यपालले विविधतामा एकताको प्रतीक सिक्किमको आफ्नै विशिष्ट अस्तित्व रहेको अनि यसलाई सबैले संरक्षण गर्नुपर्ने विषयमाथि जोड दिए।
स्वर्गीय सानु लामाको आकास्मिक निधनप्रति गहिरो शोक समवेदना प्रकट गर्दै राज्यपालले उनको निधनले भारतीय नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको बताए।
कार्यक्रममा स्वागत सम्भाषण राख्दै भानु जयन्ती समारोहका अध्यक्ष एवं मन्त्री पिन्छोनामग्याल लेप्चाले पद्मश्री पुरस्कारद्वारा सम्मानित स्वर्गीय (जीएस लामा) सानु लामाको भाषा एवम् साहित्यप्रतिको योगदानलाई स्मरण गरेका थिए।
कार्यक्रमको प्रारम्भमा पद्मश्री पुरस्कारद्वारा सम्मानित वरिष्ठ साहित्यकार एवम् लेखक स्वर्गीय (जीएस लामा) सानु लामाको निधनप्रति गहिरो शोक समवेदना प्रकट गर्दै दुई मिनटको मौनधारण गरिएको थियो।
हिजोमात्र नेपाली साहित्य परिषद् सिक्किमका पूर्वाध्यक्ष पद्मश्री पुरस्कारद्वारा सम्मानित स्वर्गीय सानु लामाको आकास्मिक निधनका कारण गान्तोकको मनन केन्द्रमा आयोजना गरिने सम्पूर्ण कार्यक्रम स्थगित गर्दै यस वर्षको २११औँ भानु जयन्ती समारोहलाई भानु उद्यानमा भानुभक्तको सालिकमा माल्यार्पणको कार्यक्रमसम्म मात्र सीमित राखिएको थियो। साहित्यकार शङ्करदेव ढकाललाई प्रदान गरिने यस वर्षको भानु पुरस्कार आगामी नेपाली भाषा मान्यता दिवसको अवसरमा प्रदान गरिने नेपाली साहित्य परिषद्ले जनाएको छ।
कार्यक्रममा मन्त्रीगण, विधायकगण, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, गान्तोक नगर निगमका मेयर नीलबहादुर छेत्री, उपमेयर छिरिङपाल्देन भोटिया, पार्षदगण, नवनियुक्त सल्लाहकारगण, अध्यक्षगण, मुख्य सचिव आर. तेलाङ, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, विभिन्न सङ्गठन एवम् संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक-शिक्षिका एवम् विद्यार्थीहरू आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल