गान्तोक, 13 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको मल्ली निर्वाचन क्षेत्र अन्तर्गत लोअर पायोङमा आज एउटा महत्त्वपूर्ण सभा सम्पन्न भयो। पार्टी अध्यक्ष गणेश कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभामा पार्टीका विभिन्न परिषद्का प्रमुखहरू उपस्थित थिए। सभाको अध्यक्षता गाउँकी वरिष्ठ नागरिक दिल कुमारी राईले गरेकी थिइन्।
पार्टी अध्यक्ष गणेश कुमार राईले सभालाई सम्बोधन गर्दै आफू मल्ली डाँडा ग्राम पञ्चायत अध्यक्ष रहँदा उक्त ग्राम पञ्चायतलाई देशकै उदाहरणीय ग्राम पञ्चायतको रूपमा स्थापित गरेको स्मरण गरे। उनले सीएपी सिक्किमको सरकार बनेपछि सिक्किमलाई विकास, सुशासन र स्वाभिमानको नमुना राज्य बनाउने दृढ संकल्प व्यक्त गरे।
उनले भने, 'सिटिजन एक्सन पार्टी–सिक्किमसँग भरपर्दो नीति, सक्षम प्रशासन, सशक्त स्थानीय स्वशासन, उत्पादक अर्थनीति, कानुनको रक्षा तथा सदुपयोग, र भ्रष्टाचारमुक्त राज्यको स्पष्ट खाका छ। यी सबै नीतिहरू हाम्रो सरकारले सत्ता सम्हालेपछि कार्यान्वयन गरिनेछ। हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं।'
सभाको क्रममा कवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै उपस्थित सबैले भानु जयन्तीको अवसरमा एक-अर्कालाई शुभकामना आदान–प्रदान गरे। पार्टी अध्यक्ष राईले नेपाली भाषाका प्रथम साहित्यिक स्रष्टा भानुभक्त आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली भाषाको संरक्षण, प्रवर्द्धन र गौरवमा सबैले योगदान दिनुपर्ने आवश्यकता औंल्याए।
महिला कल्याण परिषद् मल्ली क्षेत्रद्वारा आयोजना गरिएको उक्त सभामा सोनाम भोटिया, कविता लिम्बू, रमेश विश्वकर्मा र दीपक प्रधानले सीएपीमा औपचारिक प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ।
यस अवसरमा लोअर पायोङ महिला परिषद् पनि गठन गरियो, जसअनुसार अध्यक्ष अम्बिका सुब्बा, उपाध्यक्ष नितु प्रधान, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष हेमा शर्मा तथा सदस्यहरू खुश्बु कुमारी प्रधान र शान्ता प्रधान चयन भएका छन्। यसरी नै अप्पर पायोङ अध्यक्ष प्रेमिका लकान्द्री र उपाध्यक्ष कमला विश्वकर्मा चयन भए। आजको सभा अप्पर र लोअर पायोङ दुबै क्षेत्रलाई समेटेर आयोजना गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल