गान्तोक, 18 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले बिहिवार बेलुकी राजधानीको सदर थाना परिसरमा सीएपी सिक्किमका कार्यकर्ताहरूमाथि भएको कथित प्राणघातक हमलाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। एसडीएफले अपराधीहरूलाई तुरुन्तै पक्राउ गरि कडाभन्दा कडा कानुनी सजाय दिनुपर्छ भन्ने माग पनि गरेको छ।
एसडीएफ उपाध्यक्ष कृष्ण खरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त हमलालाई प्रजातान्त्रिक व्यवस्थामाथि ठाडो हमला ठहर गरिएको छ। एसडीएफले भनेको छ, पुलिस प्रशासन कै अघि हतियार प्रयोग गर्नु र अपराधी सकुशल त्यहाँबाट उम्कनु भनेको सरकार प्रशासनबीच सुनियोजित षड्यन्त्र भएको पुष्टि हुन्छ।
एसडीएफले पार्टी अध्यक्ष पवन चामलिङ लगायत एसडीएफका नेताहरूमाथि पनि हमला भएको स्मरण गराउॅंदै हिजोको घटना पनि त्यसकै निरन्तरता हो भनी बताएका छ। एसडीएफले एसकेएम राजमा सिक्किमका आम जनगण कोही पनि सुरक्षित नरहेको आरोप लगाएको छ।
एसडीएफले भनेको छ, फरक मत राख्ने, विरोध प्रकट गर्ने र सरकारका गलत नीति निर्णयको विरोध गर्ने संवैधानिक अधिकार खोसिएको छ। एसडीएफ पार्टी लोकतन्त्रको पहरेदार र सिक्किमको प्रजातान्त्रिक व्यवस्थाको अभिभावक पार्टी रहेको बताउॅंदै यसरी राजधानी गान्तोकको सदर थानाभित्र आम नागरिकहरुमाथि प्राणघातक हमला हुदाँ पुलिस प्रशासन मुगदर्शक भएर बस्नु भनेको राज्यको सम्पूर्ण न्याय प्रणाली शमसार हुनु हो भनेको छ।
एसडीएफले जनतामा सिक्किमको पुलिस प्रशासनमाथि पूर्ण रुपले भरोसा उठेको दाबी गर्दै प्रशासनले हतियारधारी आराजक तत्वलाई हमलाकै समयमा तुरुन्तै पक्राउ गर्नु नसकेकोमा प्रश्न उठाएको छ। एसडीएफले सिक्किममा भइरहेको सांगठनिक अपराधको जग एसकेएम सरकार आफैले राखेको हुँदा यस्ता जघन्य अपराध र असामाजिक घटनाको जिम्मेवारी पनि एसकेएम सरकार आफैले लिनुपर्छ भनेको छ।
एसडीएफ पार्टीले हिजोको हमलामा परि सख्त घाइते भएका सम्पूर्ण युवाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ऐक्यबद्धता जाहेर गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल