राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रीस्पिन छेत्रीलाई केएफसी सिलगढीद्वारा सम्मान
राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रीस्पिन छेत्रीलाई केएफसी सिलगढीद्वारा सम्मान


खरसाङ, 22 जुलाई (हि.स.)। भारतको राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रीस्पिन छेत्रीलाई कञ्चनजङ्घा फुटबल क्लब (केएफसी) द्वारा सम्मान जनाइएको छ। फुटबल खेलमा मनग्गै छाप छोड्ने खरसाङ निवासी क्रीस्पिन छेत्री हाल भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकको रूपमा भारतीय महिला फुटबल टिमलाई एशिया कपको लागि क्वालिफाई गराउन सफल बनेका छन्।

उनको फुटबलप्रतिको योगदानको कदर गर्दै मंगलवार स्थानीय सुकना इला पाल स्कूलको खेल मैदानमा केएफसी सिलगढीद्वारा स्वागत जनाउँदै क्रीस्पिन छेत्रीलाई सम्बर्द्धना जनाइयो। क्रीस्पिन छेत्रीकोको अगुवाइमा भारतको महिला फुटबल टिमले एएफसी महिला फुटबल टुर्नामेन्टको निम्ति क्वालिफाई गरेको छ‌, जुन सराहनीय कुरा हो। भारतीय महिला फुटबल टिमका मुख्य प्रशिक्षक जस्तो गरिमामय पदमा क्रीस्पिन छेत्री आसिन हुनु सम्पूर्ण पहाड तराई र डुवार्सवासीको निम्ति गर्वको रहेको बताउँदै केएफसीको पक्षबाट उपाध्यक्ष एलके राईले खदार्पण गरी सम्मान जनाए।

यसरी नै सह सचिवद्वय बिजय लिम्बू र शिवकुमार राई तथा चिफ् कोच दिनंकर छेत्री, आशिष प्रधान, कर्णेल डीके सुब्बाले सयपत्री फूलको माला पहिराएर क्रीस्पिन छेत्रीलाई सम्मान जनाए। केएफसीको टेकनिकल कमिटीबाट क्रमैले कप्तान एचके लामा, कप्तान एसडी तामाङ, मदन राणा र पीसी थुलुङले पनि खदार्पण गरेर क्रीस्पिन छेत्रीलाई सम्मान जनाए भने क्लबका खेलाडीहरु अमिर लामा, निवाङ तामाङ, राम राई, अनित राई लगायत अन्य खेलाडीहरुले पनि क्रीस्पिन छेत्रीलाई खदार्पण गरेर सम्मान जनाए।

छेत्रीलाई क्लबका अध्यक्ष अन्जु शेर्पाको बाहुलीबाट सम्वर्द्धना पत्र प्रदान गरियो। यस अवसरमा सुरेन प्रधानले सबैलाई स्वागत जनाए भने क्रीस्पिन छेत्री बारेमा संक्षिप्तमा परिचय राखेका थिए। क्लबका चिफ कोच दिनकर छेत्रीले क्रीस्पिन छेत्रीको हिजोको दिन र आजको दिन बारेमा विस्तृत रूपमा जानकारी गराए।

क्लबका उपाध्यक्ष एलके राईले पनि आफ्नो छोटो सम्बोधनमा क्लबका केटाहरुले क्रीस्पिनलाई हेरेर प्रेरणा लिनु पर्ने बताए। क्लबका टेक्निकल इन चार्ज कप्तान एचके लामाले छेत्रीलाई भेटेर सम्मान जनाउन पाएकोमा हर्ष व्यक्त गरे। क्लबका अध्यक्ष अन्जु शेर्पाले पनि क्रीस्पिन छेत्रीको उपलब्धिबारे हर्ष व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सुनाम फैलिन सकुन् भनी शुभकामना व्यक्त गरे।

उक्त सम्मानपछि क्रीस्पिन छेत्रीले यसरी सम्मान पाएकोमा हर्ष व्यक्त गरे। उनले आगामी दिनमा यस भेगका नानीहरूलाई सबै मिलेर अघि बढाउन सकौं भन्दै केएफसीका नानीहरूले उपलब्ध सुविधाहरुबाट लाभ उठाउन सक्नुपर्छ भनी बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande