क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने
क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने


गान्तोक, 30 जुलाई (हि.स.)। सिक्किममा क्यान्सरका घटनाहरू चिन्ताजनक दरमा बढिरहेका छन्। सिक्किम सरकार क्यान्सर विरुद्धको लडाईमा प्रत्येक नागरिकलाई सहयोग गर्न प्रतिबद्ध रहेको राज्य विज्ञान एवं प्रविधि विभागले आज विज्ञप्तिमा बताएको छ।

विज्ञप्ति अनुसार, विगत केही महिनादेखि, मुख्यमन्त्री प्रेमसिंह तामाङको प्राथमिकता र निर्देशन अनुरुप, सिक्किममा क्यान्सर हेरचाहलाई जोड दिन विज्ञान तथा प्रविधि विभाग र स्वास्थ्य तथा परिवार कल्याण विभागले नजिकबाट सहकार्य गरिरहेका छन्। यस क्रममा विगत एक दशकमा सिक्किमको क्यान्सर तथ्याङ्कको पूर्ण विश्लेषण गरियो, जसले राज्यमा विशिष्ट क्यान्सरको घटना, प्रकार, जातीयता र स्थानिय वितरणसँग सम्बन्धित विशिष्ट प्याटर्नको पत्ता लागेको छ। यो विश्लेषण भारत सरकारको स्वास्थ्य अनुसन्धान विभाग र जैव प्रविधि विभाग समक्ष प्रस्तुत गरियो, साथै सिक्किममा क्यान्सर हेरचाहको लागि राज्य-विशिष्ट हस्तक्षेपहरू लागू गर्न अनुरोध गरियो।

यसपछि, राज्य सरकारको अनुरोधको आधारमा भारत सरकारको स्वास्थ्य अनुसन्धान विभागले 28 जुलाई, 2025 मा नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेशनल सेन्टरमा 'सिक्किममा क्यान्सर रोकथाम र नियन्त्रणमा विशेषज्ञ परामर्श' शीर्षकको एक विशेषज्ञ परामर्श आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ।

परामर्शको अध्यक्षता स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा आईसीएमआरका महानिर्देशक डा. राजीव बहलले गरेका थिए। परामर्शमा आईसीएमआर, एआईआईएमएस, टाटा मेमोरियल अस्पताल, एनआईसीपीआर, एनसीडीआईआर र अन्य संस्थानका क्यान्सर विशेषज्ञहरू, भारत सरकारको जैव प्रविधि विभागका वरिष्ठ अधिकारीहरू, सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग र स्वास्थ्य तथा परिवार कल्याण विभागका अधिकारीहरू उपस्थित थिए।

यस कार्यक्रमको क्रममा सिक्किमलाई क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको लागि एक मोडेल राज्यको रूपमा विकास गर्ने सामूहिक निर्णय गरियो। राज्यमा उच्च प्रकोप भएका चार क्यान्सरहरू, पेट, अन्ननली, स्तन र पाठेघरको क्यान्सरलाई प्राथमिकता दिने पनि सहमति भयो। विस्तृत छलफलको आधारमा तीन प्राथमिकता क्षेत्रहरू पहिचान गरिएको छ, जसमा स्थानीयकृत क्यान्सर मार्गहरूमा नवीन अनुसन्धान, राज्यव्यापी क्यान्सर जागरूकता र व्यवहार परिवर्तन अभियान र जनसंख्या-आधारित जॉंच मार्फत प्रारम्भिक पहिचान सामेल रहेको विभागले विज्ञप्तिमा बताएको छ।

सार्वजनिक स्वास्थ्य नवाचार र सेवा वितरणमा सिक्किमको प्रभावशाली रेकर्डलाई मान्यता दिँदै क्यान्सर रोकथाम र पहिचानमा देशमा एक मोडेल राज्यको रूपमा विकास गर्न सिक्किम आदर्श रूपमा अवस्थित रहेको निर्णय गरिएको बताइएको छ। यो रणनीतिक योजना कार्यान्वयन गर्न एक महिनाभित्र एक व्यापक प्रस्ताव सह-विकास गर्न राष्ट्रिय र राज्य-स्तरीय विशेषज्ञहरू सम्मिलित तीन उपसमूहहरू गठन गरिँदैछ, जुन केन्द्र-राज्य साझेदारी मार्फत वित्त पोषित गरिनेछ।

विभागले यो केवल एक स्वास्थ्य पहल होइन, यो जीवन बचाउने, लचिलो समुदाय निर्माण गर्ने र क्यान्सर विरुद्धको लडाईमा सिक्किमलाई आशाको किरण बनाउने प्रतिबद्धता हो भनी उल्लेख गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande