पाकिम, 10 अगस्त (हि.स.)। रम्फूको खेलमैदानमा आज पहिलो आमा सम्मान दिवस भव्यरूपमा सम्पन्न गरियो। राज्य महिला, बालबालिका, वरिष्ठ नागरिक, दिव्याङ्गजन कल्याण विभागको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा विशिष्ट अतिथिहरूमा मुख्यमन्त्रीकी आमा धनमाया तामाङ, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, विधानसभा अध्यक्ष एमएन शेर्पा, विधानसभा उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, मुख्य सचिव आर. तेलाङ, सल्लाहकारगण, मुख्यमन्त्रीका राजनीतिक सचिवहरू तथा अन्य गणमान्य व्यक्तहरू उपस्थित थिए। उक्त जानकारी आज डीआईओ पाकिमले दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आमाको विरासत सबै सिंहासनभन्दा महान रहेको बताउॅंदै आमाहरूको सम्मानमा अबउसो प्रत्येक वर्ष १० अगस्तलाई आमा सम्मान दिवस भनेर पालन गरिने घोषणा गरे। सिक्किम सरकारले आमा एवम् नारीहरूको हितमा विभिन्न कार्यक्रमहरू ल्याएर सम्मान गरेको बताउॅंदै आगामी दिनमा पनि यस प्रकारका जनमुखी कार्यक्रमद्वारा उनीहरूको स्तरलाई अझ माथि उठाउने बताए।
मुख्यमन्त्रीले आज 'आमा सशक्तीकरण योजना' अन्तर्गत सिक्किमका ३२ वटा निर्वाचन छेत्रका ३२ हजार आमाहरूलाई पहिलो किस्ताको रूपमा २०-२० हजार रूपियॉंको चेक वितरण गरिने बताए। उनले यसको अर्को किस्ता आगामी वर्षको मार्च महिनासम्ममा वितरण गरिने बताए।
यस अतिरिक्त गान्तोक नगर निगममा कार्यरत आमाहरू, ग्राम पञ्चायतमा नेतृत्व गरिरहेका आमाहरू, आशा कर्मीहरू, आंगनवाडी तथा साहयक आगानवाडी कार्यकर्ताहरू, विद्यालयमा मध्यान्ह भोजन बनाउने आमाहरू, अनि स्वयम् सहायता समुहका आमाहरू गरि जम्मा २१० जाना आमाहरूलाई पनि उनीहरूको उत्कृष्ट अनि उल्लेखनीय कार्यको लागि सम्मान जनाइने बताए।
सिक्किम सरकारले 'वात्सल्य योजना' अन्तर्गत अनुसार सन्तान नभएका महिलाहरूलाई चिकित्साको निम्ति नगद रू ३ लाख सहयोग गर्दै आइरहेको मुख्यमन्त्रीले जानकारी गराए। उनले आज सय जनाभन्दा धेरै महिलाहरूले यसको लाभ उठाएको र ८० भन्दा धेरै महिलाहरूले सन्तान प्राप्त गर्न सफल बनेको पनि बताए। यसरी नै सरकारले 'आमा सहयोग योजना' अन्तर्गत ग्राम विकास विभागको तर्फबाट सिक्किमका ४२०० आमाहरूलाई वार्षिक चारवटा एलपीजी सिलिन्डर भर्नको लागि वितीय अनुदान सोझै बैङ्क खातामा हस्तान्तरण गरिने पनि बताए। उनले 'शिशु समृद्धि योजना' अन्तर्गत नवजात शिशुको जन्म हुँदा १०८ विरूवा रोप्नु पर्ने अनि त्यसको सट्टामा सरकारले उक्त शिशुको नाममा ब्याङ्कमा रू १०८०० जम्मा गरिदिने बताए।
मुख्यमन्त्रीले आज सिक्किममा महिलाहरूले विभिन्न स्तरमा नेतृत्व गरिरहेको बताउॅंदै सिक्किमका धेरै जसो विभागहरूमा महिला सचिवहरू रहेको बताए। गत विधानसभा चुनाउमा सिक्किमको सोरेङ अनि नाम्ची जिल्लामा दुईजना महिला जिल्लापाल रहेको र उनीहरूको देखरेखमा शान्तिपूर्वक चुनाउ सम्पन्न भएको बताए। मुख्यमन्त्रीले आगामी २१ अगस्तका दिन मुख्यमनन्त्री स्वरोजगार साहयता योजना अनुरूप सिक्किमका उद्यमीहरूलाई प्रोत्साहन स्वरूप चेक वितरण गरिने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका, वरिष्ठ नागरिक दिव्याङ्गजन कल्याण विभागकी सचिव नोर्मित लेप्चाले कार्यक्रमको महत्वमाथि प्रकाश पारिन्। उनले आमा सम्मान दिवसले आमाहरूको त्याग अनि सङ्घर्षको सम्मान गरेको बताउॅंदै यो समय आमाहरूको निम्ति अमृतकाल रहेको बताइन्। उनले राज्य सरकारले दिएको विभिन्न अवसरलाई सदुपयोग गरी महिलाहरू अझ अघि आउनु पर्ने आह्वान पनि गरिन्। उनले यस प्रकारको कार्यक्रमको परिकल्पनाको लागि मुख्यमन्त्रीलाई धन्यवाद दिइन्।
कार्यक्रममा मुख्यमन्त्रीको सम्भाषणपछि आमाहरूलाई मुख्यमन्त्री तथा उपस्थित विशिष्ट अतिथिहरूका हातबाट चेक वितरण गरियो।
हिन्दुस्थान समाचार / बिशाल