गोर्खा सांस्कृतिक संस्थान खरसाङलाई नमस्ते सम्मान प्रदान
खरसाङ, 10 अगस्त (हि.स.)। नमस्ते खरसाङको दशौँ स्थापना दिवस कार्यक्रम आज खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भयो। खरसाङमा समाचार च्यानलको रुपमा सन् 2016 मा स्थापना भएको नमस्ते खरसाङको दशौँ स्थापना दिवस समारोह विभिन्न जात गोष्ठीका नृत्यहरुका साथमा पालन गरियो।
उमेश कार्कीढोलीले सञ्चालन तथा स्वागत सम्भाषण राखेको कार्यक्रममा तामाङ भाई सराय, तमु गुरुङ, थुम सेजुम लेप्चा, खस हितकारी, नेवार संगठन, शेर्पा एसोसिएसन, मंगर, विश्वकर्म, दमाई, लिम्बू आदिद्वारा जातीय नृत्यहरू प्रस्तुत गरियो। नमस्ते खरसाङको दशौँ स्थापना दिवस समारोह गोर्खा जातीय संस्कृति र परम्पराको संरक्षणमा लामो समयदेखि कार्य गर्दै आइरहेको गोर्खा सांस्कृतिक संस्थान खरसाङलाई नमस्ते सम्मान प्रदान गरिएको छ।
यस अवसरमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङका प्रतिनिधिहरुलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाको बाहुलीबाट खदार्पणसहित सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो।
कार्यक्रममा अतिथिहरु क्रमैले जीटीएको प्रमुख सल्लाहकार अमर लामाले आफ्नो सम्बोधनमा चिन्हारी भन्ने कुरा कसैले दिएर हुँदैन, तर यो चिन्हारी भन्ने कुरा आफैले बनाउनुपर्छ भनी बताए। उनले हामी विभिन्न जात गोष्ठीहरुमा विभक्त भए पनि नेपाली भाषाले हामीलाई जोड्ने काम गरेको छ भनी बताए। उनले कार्यक्रममा प्रस्तुत गरिएको दमाई समाजको प्रस्तुति नौलो रहेको बताए।
कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जात जातको विभिन्न गोष्ठी भए पनि हामीले गोर्खात्वलाई बिर्सनु हुँदैन अनि विभिन्न जात गोष्ठीका संस्कार, संस्कृति र परम्पराको पनि संरक्षण गर्नुपर्छ भनी बताए। उनले हाम्रो खरसाङ राम्रो खरसाङ बनाउनुपर्छ भन्दै अहिले हाम्रो खरसाङले नै पहाडलाई नेतृत्व गरिरहेको बताए।
कार्यक्रममा नमस्ते खरसाङको तर्फबाट विभिन्न जात गोष्ठीका प्रतिनिधिहरुलाई सम्मानित गरियो। कार्यक्रममा समाजसेवी टीटी लामा, बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे, समाजसेवी दिवस छेत्री, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, जैतुन निशा खातुन, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, विभिन्न जात गोष्ठीका प्रतिनिधिहरु लगायत अन्यहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक