तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी
तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न


गान्तोक, 15 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमको तुमिन लिङ्गी निर्वाचन क्षेत्रको लागि एक महत्वपूर्ण समन्वय बैठक आइतवार सामदोङमा सम्पन्न भयो। बैठकमा पार्टी प्रभारी एवं तुमिन लिङ्गीका प्रभारी पेमा ग्याल्पो भोटिया, उपाध्यक्ष केएन तिवारी, एसीईसी अध्यक्ष आरके कटवल र सचिव (प्रशासन) राजेन घिमिरे उपस्थित थिए।

बैठकमा क्षेत्रबाट आठ परिवार सीएपीमा सामेल भएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ। पार्टी नेतृत्वहरूले नयॉं सदस्यहरूलाई स्वागत जनाए। सीएपीमा सामेल हुने निर्णय लिएकोमा उनीहरूलाई पार्टी अध्यक्ष गणेश कुमार राईको पक्षमा कृतज्ञता व्यक्त गरियो। पार्टी नेतृत्वहरूले नयॉं सदस्यहरूलाई सेवा, विकास र लोकतान्त्रिक मूल्यमान्यताको भावनामा एकताबद्ध भएर अगाडि बढ्न प्रोत्साहित गरे।

यो समन्वय बैठक स्थानीय समुदायलाई सशक्त बनाउन तथा बलियो र जनकेन्द्रित राजनीतिक आन्दोलन निर्माण गर्न सीएपीको बढ्दो प्रभाव र समर्पणको प्रमाण रहेको दाबी गरिएको छ। सीएपीले सिक्किममा पारदर्शी शासन, सामाजिक कल्याण र समावेशी विकासलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande