नाम्ची, 18 सेप्टेम्बर (हि.स.)। नाम्ची जिल्लाको वरिष्ठ पुलिस अधीक्षकको कार्यालयले आज जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा एकदिवसीय कार्यशाला एवं जागरूकता कार्यक्रम आयोजन गऱ्यो। साइबर अपराध रोकथाममाथि आयोजित उक्त कार्यक्रममा जिल्लाका पुलिस अधिकारीहरू सहभागी बनेका थिए।
'साइबर अपराध रोकथाममा टेकी पाण्डाको बुद्धिमत्ता' को ब्यानरमा आयोजित उक्त कार्यक्रम सिक्किम पुलिसका महानिदेशकको निर्देशनमा गरिएको बताइएको छ। कार्यक्रमको उद्देश्य जनचेतना अभिवृद्धि गर्नुका साथै बढ्दो डिजिटल समाजमा साइबर अपराधले निम्त्याउने बढ्दो खतराहरूबारे पुलिस अधिकारीहरूलाई परिचित गराउनु रहेको थियो।
कार्यक्रममा नाम्चीका वरिष्ठ पुलिस अधीक्षक कर्म ग्याम्छो भोटिया, नाम्चीका एसडीपीओ बिकास तिवारी, जोरथाङका एसडीपीओ केसाङ डी. भोटिया, राभाङ्लाका एसडीपीओ रोशन राई तथा जिल्लाका विभिन्न पुलिस थानाहरूका एसएचओहरू, पुलिस निरीक्षकहरू, उप निरीक्षकहरू र सहायक उप-निरीक्षकहरू उपस्थित थिए।
वरिष्ठ पुलिस अधीक्षक भोटियाले साइबर अपराध र अन्य अनलाइन गतिविधिहरूसँग सम्बन्धित कारणहरू र रोकथामका उपायहरू पुलिस कर्मचारीहरूले राम्ररी बुझ्नु पर्ने आवश्यकतामाथि जोड दिए। उनले निर्दोष मानिसहरूलाई अनलाइन गेमिङ, डिजिटल मार्केटिङ र वित्तीय लगानीमा लोभ्याउने प्रचलित अनलाइन खतराहरूको बारेमा जनतामा सक्रिय रूपमा जागरूकता फैलाउन आग्रह गरे।
तल्लो तहमा जागरूकताको आवश्यकतामा जोड दिँदै उनले भने, ‘हामी डिजिटल युगमा बाँचिरहेकाले हाम्रो समाजका हरेक व्यक्तिले स्मार्ट ग्याजेटहरू प्रयोग गर्छन्, तर धेरैलाई फिसिङ, अनलाइन उत्पीडन, नेटवर्कमा आधारित अपराध र अन्य अनलाइन ठगी जस्ता अपराधहरूमा स्क्यामरहरूले आफ्नो ध्यान आकर्षित गर्न प्रयोग गर्ने विभिन्न प्रविधिहरूबारे अनविज्ञ छन्।’ उनले अपराधीहरू विरुद्ध द्रुत कारबाही सुनिश्चित गर्न कुनै पनि शंकास्पद घटनाको तुरुन्तै पुलिसलाई रिपोर्ट गर्नुपर्ने कुरामा जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल