
सोमनाथ (गुजरात), ११ जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज यहाँ प्रथम ज्योतिर्लिङ्ग सोमनाथ महादेव मन्दिरमा विधि–विधानपूर्वक पूजा–अर्चना गरे। यस क्रममा उनले रुद्राभिषेक गर्दै जनकल्याणको कामना गरे। पूजा कार्यक्रममा देशका १२ ज्योतिर्लिङ्गका प्रतिनिधिहरूले वैदिक मन्त्र उच्चारण गरेका थिए। करिब ४० मिनेटसम्म पूजा–अर्चनामा सहभागी भएपछि प्रधानमन्त्री मन्दिर प्राङ्गणमा सञ्चालन भइरहेका सांस्कृतिक कार्यक्रमहरूमा पनि सहभागी भई सबैप्रति आभार व्यक्त गरे।
यसअघि प्रधानमन्त्री मोदीले शनिबारका कार्यक्रमहरूको भिडियो आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ ह्यान्डलमा साझा गर्दै सोमनाथ शाश्वत दिव्यताको प्रकाशस्तम्भका रूपमा उभिएको उल्लेख गरेका छन्। उनले लेखे, सोमनाथको पावन उपस्थितिले पुस्तौँदेखि मानवतालाई मार्गदर्शन गर्दै आएको छ। उक्त पोस्टमा ओंकार मन्त्र जप तथा भव्य ड्रोन शोका झलकहरू पनि समावेश थिए।
रुद्राभिषेक अघि प्रधानमन्त्री मोदी ‘सोमनाथ स्वाभिमान पर्व’ अन्तर्गत आयोजित भव्य रोड शोमा सहभागी भए। १०८ अश्वसहित निकालिएको यस शौर्य यात्रामा टाडा–टाडाबाट आएका लोक कलाकारहरूले प्रधानमन्त्रीको भव्य स्वागत गरे। यो शौर्य यात्रा भारतको पराक्रम, परम्परा र संस्कृतिको गौरवपूर्ण प्रतीकका रूपमा प्रस्तुत भयो र सोमनाथको इतिहासमा एक अविस्मरणीय अध्याय थप्यो। यसपछि प्रधानमन्त्रीले एक जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उल्लेखनीय छ, गुजरात भ्रमणका क्रममा प्रधानमन्त्री मोदी दिउँसो १२:४५ बजी सोमनाथबाट राजकोटतर्फ प्रस्थान गर्नेछन्। राजकोटमा उनी मारवाडी विश्वविद्यालयमा आयोजना हुने सौराष्ट्र–कच्छ भाइब्रेन्ट समिटको उद्घाटन गर्नेछन्। त्यसपछि उनी अहमदाबाद जानेछन्। अहमदाबाद विमानस्थलबाट प्रधानमन्त्री सड़क मार्ग हुँदै गांधीनगर पुग्नेछन्। गांधीनगरमा साँझ ५:१५ बजी महात्मा गान्धी मेट्रो स्टेशनको उद्घाटन गरी राति राजभवनमा विश्राम गर्ने छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी