
कोलकाता, १४ जनवरी (हि.स.)। मकर संक्रान्तिको अवसरमा आज बिहान गंगासागरमा लाखौँ श्रद्धालुले पवित्र स्नान गरी पुण्य आर्जन गरेका छन्। त्रेतायुगमा स्वर्गबाट अवतरण भएकी गंगाले सागर तटस्थित कपिल मुनिको आश्रम नजिक भस्म भएका राजा सगरका ६० हजार पुत्रलाई स्पर्श गरी मोक्ष प्रदान गरेको शुभ मुहूर्तमा नै सदियौँदेखि गंगासागर स्नानको परम्परा चल्दै आएको छ।
पुण्य स्नानको शुभ मुहूर्तमा देश–विदेशबाट आएका तीर्थयात्रीहरूको गंगासागरमा ठूलो भीड लागेको छ। राज्य सरकारले हालसम्म कुनै आधिकारिक तथ्यांक सार्वजनिक नगरे पनि अनुमानअनुसार लगभग १५ लाख श्रद्धालुले आस्थाको डुब्की लगाइसकेका छन्।
कपिल मुनि आश्रमका महन्त ज्ञान दासका अनुसार, आज बुधबार राति ९:१९ बजी सूर्य मकर राशिमा प्रवेश गर्नेछ। त्यसपछि पुण्य स्नानको मुख्य समय शुरु हुनेछ, जुन बिहिबार दिउँसो १:२० बजीसम्म जारी रहनेछ। यही कारणले मुख्य रूपमा बिहिबार बिहान मकर संक्रान्तिको पुण्य स्नान अझ बढी हुनेछ।
श्रद्धालुहरूले बुधबार बिहान ६ बजीदेखि नै गंगा–सागर संगममा स्नान शुरु गरेका थिए। कडा सुरक्षा व्यवस्थाबीच बिहानैदेखि श्रद्धालुहरू आ–आफ्ना शिविरबाट निस्केर संगम तटमा पुगे र गंगा तथा सागरको संगमस्थलमा आस्थाको डुब्की लगाए।
पुलिस, सिभिल डिफेन्स, होमगार्डका साथै नौसेना र तटरक्षक बलका गरी १० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ। अधिकारीहरूको अनुमानअनुसार, लगभग ३० लाखभन्दा बढी श्रद्धालु गंगासागर पुगेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी