
गान्तोक, 05 जनवरी (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) का महासचिव एवं ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाका कार्यकारी सदस्य सुकान्त दासलाई योनेक्स सनराइज इण्डिया ओपन 2026 आयोजक समितिको कोर कमिटी सदस्यको रूपमा समावेश गरिएको छ। उक्त प्रतियोगिता आगामी 13 देखि 18 जनवरी, 2026 सम्म नयॉं दिल्लीमा आयोजना हुनेछ।
भारतीय ब्याडमिन्टन संघका अध्यक्ष डा. हिमन्त बिस्व सरमाले सुकान्त दासको अटल प्रतिबद्धता, प्रशासनिक उत्कृष्टता तथा राज्य र राष्ट्रिय स्तरमा ब्याडमिन्टनको विकासमा लामो समयदेखिको योगदानको कदर गर्दै यो मनोनयन गरेको बीएएसले आज एक प्रेस विज्ञप्तिमा बताएको छ। कोर कमिटी सदस्यको रूपमा दासले यस मेगा अन्तरराष्ट्रिय कार्यक्रमको योजना, समन्वय र सफल कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
बीएएसले यो उपलब्धि सिक्किमको ब्याडमिन्टन संघको लागि मात्र नभई, सम्पूर्ण राज्यको लागि गर्व र सम्मानको क्षण रहेको बताएको छ। उनको मनोनयनले भारतीय ब्याडमिन्टनमा सिक्किमको योगदान र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल प्रशासनमा यसको बढ्दो उपस्थितिको मान्यतालाई प्रतिबिम्बित गर्दछ।
बीएएसले सुकान्त दासलाई यो सम्मानका लागि बधाई दिॅंदै उनको निरन्तर सफलताको लागि शुभकामना व्यक्त गरेको छ। बीएएसले उनको अनुभव र नेतृत्वले इण्डिया ओपन २०२६ को भव्य सफलतामा महत्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल