रेकर्ड तोड्नका लागि राजनीति गरेको होइन : सिद्धारमैया
Karnataka cm


मैसूरु, ०६ जनवरी (हि.स.)। समाजमा आज पनि असमानता विद्यमान रहेको र जबसम्म यो अन्त्य हुँदैन तथा सबैलाई समान न्याय प्राप्त हुँदैन, तबसम्म आफू संघर्षरत रहने र जनताको सेवामा निरन्तर काम गर्ने कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले बताएका छन्। मंगलबार मैसूरुस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यो कुरा स्पष्ट पारे।

पूर्व मुख्यमन्त्री देवराज अरसूको कार्यकालको रेकर्ड बराबरी गरेको विषयमा सोधिएको प्रश्नमा मुख्यमन्त्री सिद्धारमैयाले आफूले कहिल्यै रेकर्ड तोड्ने उद्देश्यले राजनीति नगरेको बताए। यो रेकर्ड संयोगवश बनेको उनको भनाइ थियो। उनले देवराज अरसूले कति वर्षसम्म राज्यको नेतृत्व गरेका थिए भन्ने जानकारी समेत आफूलाई नभएको स्पष्ट पारे। उनले भने, यो सबै जनताको आशीर्वाद र समर्थनकै कारण सम्भव भएको हो।

मुख्यमन्त्री पदको कार्यकाल पूरा गर्ने विषयमा निर्णय पार्टी नेतृत्वले लिने बताए पनि उनले आफूले कार्यकाल पूरा गर्ने विश्वास व्यक्त गरे।

सिद्धारमैयाले लामो राजनीतिक जीवनले आफूलाई सन्तुष्टि दिएको र जनताको लागि काम गर्नु नै आफ्नो लागि खुशीको विषय भएको बताए। उनका अनुसार, राजनीतिकाे वास्तविक अर्थ गरिब, दलित र पछाडिएका वर्गका हितको संरक्षण गर्नु र उनीहरूका लागि काम गर्नु हो।

आफ्नो राजनीतिक यात्रालाई सम्झँदै मुख्यमन्त्रीले कहिल्यै मुख्यमन्त्री बन्ने सपना नदेखेको बताए। उनको अधिकतम चाहना विधायक बन्ने मात्र थियो। तर परिस्थिती र अवसरका कारण उनी विधायक बने, मन्त्री, उपमुख्यमन्त्री, विपक्षी नेता हुँदै अन्ततः मुख्यमन्त्रीसमेत बन्न सफल भए। उनले आफूलाई प्राप्त अवसर र जनताले देखाएको विश्वासकै कारण यो सम्भव भएको बताए।

मुख्यमन्त्रीले देवराज अरसू र आफू दुवै मैसूरुका भएको र दुवैले लामो समयसम्म मुख्यमन्त्रीको रूपमा सेवा गरेको उल्लेख गरे, यद्यपि दुवैको कार्यकाल फरक–फरक कालखण्डमा रहेको बताए। देवराज अरसू सन् १९७२ देखि १९८० सम्म मुख्यमन्त्री रहेका थिए भने आफूले दुई पटक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको उनले बताए।

अन्त्यमा मुख्यमन्त्री सिद्धारमैयाले समाजमा असमानता र अन्याय रहुञ्जेल जनताको हितका लागि आफ्नो संघर्ष जारी रहने दोहोर्‍याए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande