कर्नाटकमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहने रेकर्ड सिद्धारमैयाले बनाए
Karnataka cm


बेङ्गलुरु, ०६ जनवरी (हि.स.)। कर्नाटकको राजनीतिक इतिहासमा आज नयाँ अध्याय थपिएको छ। मुख्यमन्त्री सिद्धारमैयाले राज्यमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहने देवराज अरसूको रेकर्ड तोडेका छन्।

६ जनवरीको दिन मुख्यमन्त्री सिद्धारमैयाका लागि ऐतिहासिक बनेको छ, किनकि उनले कर्नाटकमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहने कीर्तिमान स्थापित गरेका छन्। सिद्धारमैया हालसम्म कुल ७ वर्ष २३९ दिनसम्म मुख्यमन्त्रीको रूपमा सेवा गरिसकेका छन्। यससँगै उनले देवराज अरसूको २,७८९ दिनको मुख्यमन्त्री कार्यकालको रेकर्ड तोडेका हुन्। अब उनी राजनीतिक वृत्तमा ‘दखले रामैया’ को नामले चिनिन थालेका छन्।

सन् २०१३ मा पहिलो पटक बनेका थिए मुख्यमन्त्री

कांग्रेस पार्टीका सशक्त नेता सिद्धारमैया आफ्नो राजनीतिक दूरदर्शिता र जनसमर्थनका बलमा नेतृत्वको शिखरमा पुगेका छन्। उनले पहिलो पटक सन् २०१३ मा मुख्यमन्त्री पद सम्हालेका थिए र २०१३ देखि २०१८ सम्म पाँच वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरे। पहिलो कार्यकालमा उनले १,८२९ दिन मुख्यमन्त्रीका रूपमा सेवा गरे।

यसपछि सन् २०२३ को विधानसभा चुनावमा कांग्रेस पार्टीले स्पष्ट बहुमत हासिल गरेपछि सिद्धारमैयाले २० मे २०२३ मा दोस्रो पटक मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए। दोस्रो कार्यकालकै क्रममा आज उनले देवराज अरसूको रेकर्ड तोड्दै कर्नाटकका सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्री बनेका छन्।

यसबीच, सिद्धारमैयाले राज्यको बजेट प्रस्तुत गर्ने सन्दर्भमा पनि नयाँ कीर्तिमान बनाएका छन्। उनले हालसम्म कुल १६ वटा बजेट प्रस्तुत गरिसकेका छन्, जसका कारण उनी कर्नाटकको इतिहासमा सबैभन्दा धेरै बजेट प्रस्तुत गर्ने मुख्यमन्त्री बनेका छन्।

लोक दलदेखि कांग्रेससम्मको राजनीतिक यात्रा

सिद्धारमैयाको राजनीतिक करियर लोक दलबाट सुरु भएको थियो। पछि उनी जनता दलमा आबद्ध भए र राज्य राजनीतिमा प्रभावशाली नेताका रूपमा उभिए। सन् २००६ मा उनले जनता दल छोडेर कांग्रेस पार्टीमा प्रवेश गरे। कांग्रेस पार्टीलाई सुदृढ बनाउन उनले कडा परिश्रम गरे र पार्टीका एक बलिया नेताका रूपमा स्थापित भए।

कर्नाटकमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको रूपमा सेवा गर्ने नेताहरूको सूचीमा अब सिद्धारमैया शीर्ष स्थानमा पुगेका छन्। यसअघि देवराज अरसू (७ वर्ष २३९ दिन), त्यसपछि एस. निजलिंगप्पा (७ वर्ष १७५ दिन), रामकृष्ण हेगडे (५ वर्ष २१६ दिन) र बी.एस. येदियुरप्पा (५ वर्ष ८२ दिन) रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande