
खरसाङ, 10 अक्टोबर (हि.स.)। खरसाङमा प्रजातान्त्रिक असङ्गठित श्रमिक सङ्गठनको पञ्जीकरण गरिएको छ। खरसाङ तथा वरपरका क्षेत्रमा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिकहरूले कार्यक्षेत्रमा भोग्नुपरिरहेका विभिन्न समस्याहरूको समाधान गर्ने उद्देश्यले सङ्गठनको पञ्जीकरण गरिएको बताइएको छ।
भागोप्रमो टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनको अगुवाइमा केन्द्रिय अध्यक्ष अनित थापासँग भेटघाट गरी श्रमिकहरूका समस्याबारे जानकारी गराइएको थियो। सो क्रममा अनित थापाले आवश्यक सहयोग गर्दै सङ्गठनको पञ्जीकरण गराइदिने आश्वासन दिएका थिए। सोही आश्वासनअनुरूप पहल गर्दै पञ्जीकरण प्रक्रिया पूरा गरिएको हो।
खरसाङस्थित भागोप्रमो महकुमा कार्यालयमा आयोजित कार्यक्रममा महकुमा समितिका अध्यक्ष प्रणाम रसाइली, टाउन कमिटीका उपाध्यक्ष सन्तोष परियार तथा सचिव राजु सेवाको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले सञ्चालन गर्दै पञ्जीकृत संस्थाको महत्त्व तथा संस्थाका लागि आवश्यक सामग्रीबारे जानकारी गराए। त्यसपछि महकुमा समितिका अध्यक्ष प्रणाम रसाइलीको बाहुलीबाट प्रजातान्त्रिक असङ्गठित श्रमिक सङ्गठनका अध्यक्ष सरण विश्वकर्मा तथा सचिवलाई पञ्जीकरण प्रमाणपत्र हस्तान्तरण गरियो।
सङ्गठनको पञ्जीकरणसँगै खरसाङ तथा वरपरका क्षेत्रमा कार्यरत असङ्गठित श्रमिकहरूका समस्या समाधान गर्न थप पहल हुने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक