
मङ्पू, 10 अक्टोबर (हि.स.)। श्री प्राणनाथजी महाराजको ४०८औँ जन्मजयन्तीको अवसरमा श्री प्राणनाथ परमार्थ सेवा फाउन्डेसन, मङ्पूको तत्त्वावधानमा लागुपदार्थ तथा अन्य नशालु पदार्थको दुर्व्यसनविरुद्ध विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। सरस्वती उच्चतर माध्यमिक विद्यालयको मङ्गल प्रेक्षागृहमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई दुर्व्यसनका दुष्परिणामबारे जानकारी दिँदै यसबाट टाढा रहन प्रेरित गरिएको थियो।
कार्यक्रममा प्रमुख स्रोत वक्ताका रूपमा सिक्किम सरकारका मुख्यमन्त्रीका प्रमुख सल्लाहकार तथा सारथी फाउन्डेसनका निर्देशक सन्त रोहितराज महाराज उपस्थित थिए। उनले विद्यार्थीहरूलाई लागुपदार्थ दुर्व्यसनबाट बच्न आवश्यक सावधानी, उचित संस्कार र सही मार्गदर्शनको महत्त्वबारे जानकारी गराए।
सरस्वती उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जित थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारी सिन्कोना बगानका व्यवस्थापक गोपाल लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
वर्तमान समयमा लागुपदार्थ तथा अन्य नशालु पदार्थको दुर्व्यसनले समाजमा गम्भीर चुनौती खडा गरिरहेको र मङ्पू क्षेत्र पनि यस समस्याबाट अछुतो नरहेको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको बताइएको छ। विशेषगरी विद्यार्थीहरूलाई दुर्व्यसनको जोखिमबारे सचेत गराउनुका साथै उनीहरूलाई सकारात्मक जीवनपथतर्फ अभिप्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
प्रमुख स्रोत वक्ता सन्त रोहितराज महाराजले विद्यार्थीहरूमा बाल्यकालदेखि नै उचित संस्कार, नैतिक मूल्य र सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। विद्यार्थीहरू समाज र देशका भावी कर्णधार भएकाले उनीहरूको जीवनलाई सही दिशा दिन परिवार, विद्यालय र समाज सबैको महत्त्वपूर्ण भूमिका रहने उनले बताए। उनले विद्यार्थीहरूलाई दुर्व्यसनबाट टाढा रहँदै अनुशासित, जिम्मेवार र उद्देश्यपूर्ण जीवन बिताउन प्रेरित गरे।
हिन्दुस्थान समाचार / हनोक