
हाथरस, ११ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको हाथरस जिल्ला स्थित नगला लच्छी गाउँमा चार दिनदेखि बेपत्ता ३५ वर्षीय ई–रिक्सा चालक कन्हैयालालको शव शनिवार राति आफ्नै घरको कोठामा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको छ। घरबाट दुर्गन्ध आएपछि छिमेकीले पुलिसलाई खबर गरेका थिए। पुलिसले शवलाई पोस्टमार्टमका लागि पठाएको छ।
मृतकका भाइ सञ्जुले कन्हैयालालको हातमा चोटका निशान रहेको र घरको ढोका बाहिरबाट बन्द रहेको बताउँदै हत्या भएको आशङ्का व्यक्त गरेका छन्। गाउँका केही व्यक्तिसँग कन्हैयालालको विवाद रहेको पनि उनले बताएका छन्। घटनापछि परिवार र पुलिसबीच भनावैरी समेत भएको थियो।
पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने पुलिसले जनाएको छ।
/ बिशाल