
गान्तोक, ११ अक्टोबर (हि.स.)। भारत सरकारको शिक्षा मन्त्रालयका संयुक्त सचिव आशीष जोशीको अध्यक्षतामा गान्तोकमा ९ र १० अक्टोबर, २०२६ का दिन पूर्वोत्तर राज्यहरूमा सञ्चालित पीएम योजना तथा समग्र शिक्षा कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको छ। सिक्किम सरकारको आयोजनामा सम्पन्न बैठकमा पूर्वोत्तर राज्यका शिक्षा विभागका प्रतिनिधिहरूको सहभागिता रहेको शिक्षा विभागले प्रेस विज्ञप्तिमा जनाएको छ।
बैठकअघि ८ अक्टोबरमा सिक्किम आउने क्रममा संयुक्त सचिव जोशीले विद्यालय शिक्षा विभागका सचिव टासी छोपेलसँगै राज्यका विभिन्न विद्यालय तथा शैक्षिक संस्थानहरूको भ्रमण गरेका थिए। भ्रमणका क्रममा सिङ्तामस्थित पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा सचिव छोपेलसहित राज्यको प्रतिनिधिमण्डलले उनीहरूलाई स्वागत गरेको थियो। प्रतिनिधिमण्डलमा विद्यालय शिक्षा निर्देशक, समग्र शिक्षा निर्देशक तथा समग्र शिक्षाका उपनिर्देशक पनि सहभागी थिए।
टोलीले पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सिङ्ताम, आहो पुल किशान माध्यमिक विद्यालय, जिल्ला शिक्षा तथा प्रशिक्षण संस्थान (डाइट), गान्तोक, राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् (एससीईआरटी), बर्तुत र बोजोघारी वरिष्ठ माध्यमिक विद्यालयको भ्रमण गरेको थियो।
भ्रमणका क्रममा विद्यालयहरूको कार्यसम्पादन तथा विद्यालय शिक्षालाई सुदृढ बनाउन राज्यले सञ्चालन गरेका विभिन्न पहलहरूको समीक्षा गरिएको थियो। शिक्षण तथा सिकाइ प्रक्रियामा सुधार, शैक्षिक पूर्वाधारको विकास र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा केन्द्रित कार्यक्रमबारे जानकारी लिइएको थियो। प्रतिनिधिमण्डलले विद्यालयका शैक्षिक गतिविधि, उपलब्ध सुविधा तथा विद्यार्थीहरूको सिकाइ अनुभव र सर्वाङ्गीण विकासका लागि अपनाइएका उपायहरूको पनि अवलोकन गरेको थियो।
९ अक्टोबरमा संयुक्त सचिव आशीष जोशीको अध्यक्षतामा पूर्वोत्तर राज्यहरूमा प्रधानमन्त्री पोषण योजना कार्यान्वयनको समीक्षा बैठक सम्पन्न भयो। बैठकमा कार्यक्रमको प्रगति, खर्च तथा बजेटको उपयोग, कार्यान्वयनको समग्र अवस्था र अनुगमन प्रणालीलाई सुदृढ बनाउने उपायबारे छलफल गरिएको थियो।
यसरी नै १० अक्टोबरमा आयोजित समीक्षा बैठक समग्र शिक्षा कार्यक्रमअन्तर्गतका पहल, प्रगति तथा पूर्वोत्तर राज्यहरूले अपनाएका उत्कृष्ट अभ्यासमा केन्द्रित रहेको थियो। संयुक्त सचिव जोशीको अध्यक्षतामा सम्पन्न बैठकमा सिक्किम सरकारको शिक्षा विभागका वरिष्ठ अधिकारीहरू र पूर्वोत्तर राज्यका प्रतिनिधिहरू उपस्थित थिए।
छलफलका क्रममा आधारभूत साक्षरता तथा सङ्ख्यात्मक सीप सुदृढ गर्ने, विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार ल्याउने, समावेशी तथा समानतामूलक शिक्षालाई प्रोत्साहन गर्ने, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रभावकारी शिक्षण र सिकाइका लागि प्रविधि एवं नवीन विधिहरूको उपयोग गर्ने विषयलाई पनि प्राथमिकता दिइएको थियो।
पूर्वोत्तर राज्यहरूबीच अनुभव आदानप्रदानले एकअर्काका सफल अभ्यासबाट सिक्ने तथा क्षेत्रका विविध शैक्षिक आवश्यकताअनुरूप उपयुक्त कार्यक्रम अपनाउने अवसर प्रदान गरेको बैठकमा उल्लेख गरिएको थियो।
बैठकले राष्ट्रिय शैक्षिक प्राथमिकताअनुरूप समग्र शिक्षा तथा पीएम पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि भारत सरकारको शिक्षा मन्त्रालय र पूर्वोत्तर राज्यहरूबीच सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएको छ।
यसैबीच, सिक्किम सरकारको विद्यालय शिक्षा विभागले प्रभावकारी योजना निर्माण, अनुगमन, क्षमता अभिवृद्धि तथा नवीन अभ्यासको अवलम्बनमार्फत शैक्षिक सेवा प्रवाहलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सिकाइ उपलब्धिमा सुधार, गुणस्तरीय शिक्षामा समान पहुँच र केन्द्र प्रायोजित शैक्षिक कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न शिक्षा मन्त्रालय तथा अन्य पूर्वोत्तर राज्यहरूसँग निकट समन्वयमा काम गर्ने प्रतिबद्धता पनि विभागले दोहोर्याएको छ।
हिन्दुस्थान समाचार / बिशाल