
गान्तोक, 12 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका युवा नेताहरूले सिक्किममा चुनावी षड्यन्त्र भएको आरोप लगाउँदै सोमबार दिल्लीको जन्तरमन्तरमा बीबीसीका प्रतिनिधिलाई प्रतिवेदन बुझाएका छन्।
एसडीएफद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पार्टीको प्रचारप्रसार मामिलाकी महासचिव उर्वशी खालिङ र नाम्ची जिल्ला महासचिव तथा प्रभारी रिवाज लिम्बूले प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदनमा २०१९ को विधानसभा निर्वाचनमा जनप्रतिनिधित्व ऐनअनुसार उम्मेदवार बन्न अयोग्य व्यक्तिलाई कसरी उम्मेदवार बन्न अनुमति दिइयो भन्ने प्रश्न उठाएको उल्लेख छ।
साथै, भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूलाई जनआकाङ्क्षा विपरीत सिक्किमको सत्तामा पुर्याइएको दाबी गर्दै यससम्बन्धी प्रमाण प्रस्तुत गरिएको एसडीएफले जनाएको छ।
अर्कातिर, पार्टीका वरिष्ठ उपाध्यक्ष तथा युवा प्रभारी कर्मा टाशी भोटिया, नाम्ची जिल्ला अध्यक्ष रमेश किराँत, प्रवक्ता योजना खालिङ र सोरेङ जिल्ला युवा प्रभारी इजाक लिम्बूले जन्तर-मन्तरमा जारी प्रदर्शनमा भाग लिएको एसडीएफका वरिष्ठ उपाध्यक्ष (प्रचारप्रसार) अम्बर राईले प्रेस विज्ञप्तिमा बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल