एसपीसीसी प्रतिनिधि टोली दिल्लीमा आयोजित र्यालीमा सहभागी
एसपीसीसी प्रतिनिधि टोली दिल्लीमा आयोजित र्यालीमा सहभागी


गान्तोक, 12 अक्टोबर (हि.स.)। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको आह्वानमा भारतका मुख्य न्यायाधीश भेट्न सर्वोच्च न्यायालयतर्फ गरिएको र्‍यालीमा सिक्किम प्रदेश कङ्ग्रेस कमिटी (एसपीसीसी) का अध्यक्ष गोपाल छेत्री र कोषाध्यक्ष कर्मा टाशी भोटियालगायत पार्टीका अन्य सदस्य सोमवार दिल्लीमा आयोजित उक्त र्‍यालीमा सहभागी भए।

यस र्‍यालीमा देशभरिबाट युवा, नागरिक र विभिन्न राजनीतिक दलका सदस्यसहित मानिसहरूको बाक्लो उपस्थिति देखियो। उनीहरू चुनावी सुधार, पारदर्शिता र जवाफदेहिताको मागमा एकजुट भएका थिए। उक्त विराट् सहभागिताले चुनावी प्रक्रियामा अनुचित अभ्यास भएको दाबी गर्दै जनसाधारणको सामूहिक चासो र चिन्तालाई सशक्त रूपमा प्रदर्शन गर्‍यो।

एसपीसीसीले विज्ञप्तिमा भनेको छ, “यो आन्दोलनले राहुल गान्धीको मात्र नभएर लोकतन्त्रको रक्षा गर्न तथा प्रत्येक भारतीयको स्वतन्त्र र निष्पक्ष रूपमा मतदान गर्ने मौलिक अधिकारको संरक्षण गर्न आवाज उठाइरहेका अनगिन्ती युवा र नागरिकहरूको आकाङ्क्षाको प्रतिनिधित्व गर्दछ। सहभागीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गरे र डर वा पक्षपातबिना लोकतान्त्रिक मूल्य-मान्यताहरूको पालना गर्ने निष्पक्ष तथा जवाफदेही निर्वाचन आयोगको आवश्यकतामा जोड़ दिए।”

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande