
नाम्ची, 13 अक्टोबर (हि.स.)। सिक्किम सरकारको मत्स्यपालन विभागसँगको सहकार्यमा सिक्किम एङ्लर्स एसोसिएसन (एसएए) द्वारा आयोजित तीनदिने चिरबिरे रिभर फेस्ट’ सोमवार जोरथाङको चिरबिरेमा सम्पन्न भएको छ। यस महोत्सवले नदी संरक्षण, पर्यावरणीय देखरेख र जलचर पारिस्थितिक प्रणालीको जगेर्नाप्रति एसोसिएशनको 25 वर्षको प्रतिबद्धतालाई पनि स्मरण गरेको बताइएको छ।
समापन समारोहमा सालघारी-जूमका विधायक तथा यातायात एवं कौशल विकास विभागका सल्लाहकार मदन सिञ्चुरी मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। उनीसँगै मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ, मुख्यमन्त्रीकी कानुनी सल्लाहकार पूजा लामिछाने, सोरेङ जिल्लाका उपाध्यक्ष सीबी शाह शङ्कर, विधायकका विशेष कर्तव्य अधिकारी राजु रोशन प्रधान, पञ्चायत (एनजेएनपी) प्रतिनिधि रणदीप छेत्री, जोरथाङका एसडीएम बीबी राई, जोरथाङका एमईओ दिलीप दोङ र एएएका अध्यक्ष डा. एसके देवानलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा महोत्सव आयोजना गर्न पुर्याएको सहयोग र सहकार्यको कदर गर्दै एसोसिएशनले मुख्य अतिथिलाई सम्मान गर्यो साथै यस कार्यक्रमसँग जोड़िएकोमा एसोसिएशनले नयाँ बजार-जोरथाङ नगर पञ्चायत र नेपालको साहसिक पर्यटन एजेन्सी कर्णाली र्याफ्टिङ एण्ड एड्भेञ्चर प्रालिलाई पनि सम्मान गर्यो।
एङ्लिङ र जलचर जीवनको संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘क्याच-एन्ड-रिलिज’ एङ्लिङ प्रतियोगिता यस महोत्सवको मुख्य आकर्षण रह्यो। यस प्रतियोगितामा सुकराज योञ्जनले प्रथम स्थान हासिल गर्दै ट्रफी, सहभागिताको प्रमाण-पत्र र 50,000 रुपियाँ नगद पुरस्कार प्राप्त गरे। तिलक राई र नजिम लेप्चाले संयुक्त रूपमा दोस्रो स्थान हासिल गरे। उनीहरू प्रत्येकले ट्रफी, सहभागिताको प्रमाण-पत्र र 20,000 रुपियाँ नगद पुरस्कार प्राप्त गरे। सञ्जय राईले तेस्रो स्थान हासिल गरे र उनलाई ट्रफी, सहभागिताको प्रमाण-पत्र तथा 20 हजार रुपियाँ नगद पुरस्कार प्रदान गरियो। उत्कृष्ट प्रदर्शनको कदर गर्दै, चोङ तार्गेनलाई असाधारण माछा मार्ने कला (एङ्लिङ) का लागि विशेष प्रशंसा पत्र प्रदान गरियो भने विकिरन गुरुङलाई सर्वोत्कृष्ट खेलाड़ी पुरस्कारबाट सम्मानित गरियो। उनीहरू दुवैलाई 10 हजार रुपियाँ नगद पुरस्कार पनि प्रदान गरिएको थियो।
तीनदिने महोत्सवमा सहभागिता जनाएबापत् संयुक्त राज्य अमेरिकाका जेकब ड्यानियल्स र नेपालका देवेन्द्र जैशेलाई पनि प्रमाण-पत्र प्रदान गरियो। माछा मार्ने प्रतियोगितामा सहभागी कुल 22 जनाले सहभागिताको प्रमाण-पत्र प्राप्त गरे।
विशेष सम्मान समारोहको एक भागका रूपमा महोत्सवको सफल आयोजनामा पुर्याइएको बहुमूल्य सहयोग र योगदानको कदर गर्दै आयोजक संस्थाले नोएल कार्थक, मारिया मालेन्डा, सोलो देसी ट्राभलर, वर्णमाला परिवारसहित अन्यलाई संवर्द्धना जनायो।
समापन कार्यक्रममा साङ्गीतिक प्रस्तुति र कविता वाचन पनि समावेश थिए, जसले उत्सवको माहोललाई अझ रमाइलो बनाए। चिरबिरे रिभर फेस्टको सफल समापनले सामुदायिक सहभागिता, जिम्मेवार ढङ्गले माछा मार्ने अभ्यास तथा नदीहरूको संरक्षण र यस क्षेत्रको समृद्ध जल-जैविक विविधता जोगाउन सामूहिक प्रयासको महत्त्वलाई पुनः पुष्टि गर्यो।
---------------
हिन्दुस्थान समाचार / बिशाल