
गान्तोक, 13 अक्टोबर (हि.स.)। गान्तोकका अतिरिक्त जिल्लापाल (विकास) चिरण रिजाल र उनको कार्यालयको टोलीले मार्ताम खण्डअन्तर्गत ब्लकस्तरीय अधिकारी तथा ग्राम पञ्चायत एकाइहरूसँग समन्वय तथा समीक्षा बैठक आयोजना गरेका छन्। यस बैठकको उद्देश्य विभिन्न सरकारी योजनाको प्रगतिको समीक्षा गर्नुका साथै प्रभावकारी कार्यान्वयन र सुधारिएको सार्वजनिक सेवा प्रवाहका लागि समन्वय सुदृढ़ पार्नु रहेको थियो।
बैठकमा मार्तामका खण्ड विकास अधिकारी सोनाम पाल्देन भोटियाका साथै पञ्चायत सदस्य, खण्ड अधिकारी र सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकको क्रममा सम्बन्धित अधिकारीहरूले मार्ताम खण्डअन्तर्गत कार्यान्वयन भइरहेका विभिन्न सरकारी योजना र विकास पहलहरूबारे अद्यावधिक जानकारी प्रस्तुत गरे।
मार्ताम खण्डअन्तर्गत् चारैवटा ग्राम पञ्चायत एकाइ (जीपीयू) का लागि तयार पारिएका ग्राम पञ्चायत विकास योजना जीपीडीपीका प्रतिवेदन सम्बन्धित पञ्चायत अध्यक्षहरूद्वारा गान्तोकका एडीसी (विकास) समक्ष औपचारिक रूपमा पेश गरियो। यस बैठकले जारी विकासीय गतिविधिहरूको समीक्षा गर्ने, कार्यान्वयनसम्बन्धी विषयहरूमा छलफल गर्ने तथा सरकारी कार्यक्रमहरूको समयमै र प्रभावकारी कार्यान्वयनका लागि खण्ड प्रशासन, जीपीयू र सम्बन्धित विभागबीचको समन्वयको महत्त्वमा जोड़ दिने अवसर प्रदान गरेको बताइएको छ।
कार्यक्रमलाई गान्तोकका अतिरिक्त जिल्लापाल (विकास) ले पनि सम्बोधन राखे। उनले अधिकारी तथा पञ्चायत प्रतिनिधिहरूलाई अझ बढ़ी समर्पण, अनुशासन, जवाफदेहिता र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताका साथ आफ्ना जिम्मेवारीहरू पूरा गर्न प्रोत्साहित गरे। उनले विकासका पहलहरू लक्षित लाभग्राहीसम्म पुग्ने सुनिश्चित गर्न प्रभावकारी योजना, नियमित अनुगमन र सामूहिक प्रयासको महत्त्वमा जोड़ दिए।
गान्तोकका अतिरिक्त जिल्लापाल (विकास) को नेतृत्वमा नशामुक्त अभियानअन्तर्गत् प्रतिज्ञा (सङ्कल्प) लिँदै बैठकको समापन गरियो। यस प्रतिज्ञाको उद्देश्य लागुपदार्थको दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्नु र नशामुक्त समाज निर्माणका लागि अधिकारी तथा जनप्रतिनिधिहरूमा सामूहिक जिम्मेवारीको भावना जगाउनु रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल