माचोङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक आवास मर्मतबारे स्वास्थ्य विभाग स्पष्टीकरण
माचोङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक आवास मर्मतबारे स्वास्थ्य विभाग स्पष्टीकरण


गान्तोक, 13 अक्टोबर (हि.स.)। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले माचोङ प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) का चिकित्सकको आवास मर्मतसम्बन्धी सामाजिक सञ्जालमा प्रसारित आरोपबारे आफ्नो स्पष्टीकरण जारी गरेको छ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सामाजिक सञ्जालमा माचोङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकको आवास मर्मतसम्बन्धी केही आरोपहरू प्रसारित भइरहेको विभागको जानकारीमा आएको छ। यस सम्बन्धमा विभागले सामाजिक सञ्जालका पोस्टहरूमा दाबी गरिएअनुसार उक्त कुनै पनि कामका लागि स्वास्थ्य तथा परिवार कल्याण विभागले स्वीकृति नदिएको स्पष्ट पारेको छ।

विभागले अपुष्ट सूचनाहरूको प्रसारप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले सर्वसाधारणमा अनावश्यक भ्रम सिर्जना गर्न सक्ने तथा जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर खटिरहेका स्वास्थ्यकर्मीहरूको मनोबलमा प्रतिकूल असर पार्न सक्ने जनाएको छ।

विभागले यस्ता कुनै पनि सूचना प्रसारित वा साझा गर्नुअघि सम्बन्धित अधिकारीहरूबाट तथ्यहरूको पुष्टि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। भ्रामक वा आधारहीन आरोपहरूको प्रसार आपत्तिजनक रहेको उल्लेख गर्दै विभागले यस्ता गतिविधिले विभाग र सरकारप्रतिको जनविश्वासमा अनावश्यक रूपमा असर पार्न सक्ने चेताउनी दिएको छ।

स्वास्थ्य तथा परिवार कल्याण विभागले सार्वजनिक हितका लागि पारदर्शिता, जवाफदेहिता र स्वास्थ्य सेवाको निरन्तर सुधारप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande