खरसाङमा फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमको तयारी तीव्र
Phoolpati sobhayatra meeting


खरसाङ, 13 अक्टोबर (हि.स.)। खरसाङमा आयोजना हुने फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोजक समितिको सभा खरसाङस्थित गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भयो।

फूलपाती शोभायात्रा समारोह समितिका अध्यक्ष आइएन शर्माको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सूचना तथा सांस्कृतिक विभाग, खरसाङका प्रभारी एवं कार्यक्रमका सचिव गोविन्द छेत्रीले गरेका थिए।

उनले यस वर्ष प्रदान गरिने विभिन्न सम्मानका साथै मालश्री गायन प्रतियोगिता, झाँकी प्रतियोगिता तथा विभिन्न सांस्कृतिक नृत्यहरू पनि कार्यक्रममा समावेश गरिने जानकारी दिए।

यस अवसरमा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूले फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आ-आफ्ना सुझाव तथा सल्लाह प्रस्तुत गरेका थिए।

सभालाई सम्बोधन गर्दै समारोह समितिका अध्यक्ष आइएन शर्माले फूलपाती पर्वको आफ्नै विशिष्ट महत्त्व र विशेषता रहेको उल्लेख गरे। उनले यस परम्परालाई संरक्षण गर्दै भावी पुस्तासम्म पुर्‍याउनु सबैको साझा दायित्व रहेको बताए। साथै, उनले गोर्खा समुदायका सबैलाई अधिक सङ्ख्यामा जातीय पोसाकमा सहभागी भएर पर्वको गरिमा बढाउन तथा नयाँ पुस्तालाई यसको सांस्कृतिक महत्त्वबारे जानकारी गराउन आग्रह गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande