
गान्तोक, 14 अक्टोबर (हि.स.)। सिक्किम अकादेमीले सिक्किमवासी तथा सिक्किमलाई कर्मथलो बनाएर बसोबास गरिरहेका लेखकहरूका लागि नयाँ अवसर र चुनौती प्रस्तुत गर्दै ‘पाण्डुलिपि पुरस्कार २०२६-२७’ घोषणा गरेको छ। सिक्किमेली लेखनको अभिव्यक्ति र स्तर अभिवृद्धि गर्ने उद्देश्यले अकादेमीले यो पहल अघि सारेको हो।
यस पहलबारे अकादेमीका अध्यक्ष प्रवीण राई जुमेली, महासचिव पूर्ण योञ्जन तथा सचिवद्वय पीएल शर्मा र प्रद्धुम्न श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। अकादेमीले जारी गरेको दिशानिर्देशअनुसार, अप्रकाशित पाण्डुलिपि भएका सिक्किमेली लेखकहरूले यस प्रतियोगितामा सहभागी हुन सक्नेछन्। पाण्डुलिपि कुनै पनि रूपमा प्रकाशित भएको हुनुहुँदैन। सिक्किमेली समाजको इतिहास, परम्परा, समालोचना, निबन्ध, कला, संस्कृति तथा अन्य विषयमा गरिएका सूक्ष्म र गहन अध्ययनमा आधारित लेखनलाई प्राथमिकता दिइनेछ।
यसअघि प्रकाशनका लागि अकादेमीमा बुझाइएका विभिन्न आवेदनलाई पनि यस प्रक्रियामा समेटिने जनाइएको छ। यद्यपि, प्रतियोगितामा सहभागी हुन इच्छुक सम्बन्धित लेखकहरूले निर्धारित प्रवेश शुल्क बुझाउनुपर्नेछ।
अकादेमीद्वारा नियुक्त पुस्तक चयन समितिले पाण्डुलिपिहरूको गुणस्तर, प्रासङ्गिकता र गहनताका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट पहिलो र दोस्रो पाण्डुलिपि चयन गर्नेछ। चयनित पाण्डुलिपिका लेखकहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै ती पुस्तकहरू अकादेमीले प्रकाशित गर्नेछ। तथापि, विवादास्पद लेखनलाई स्वीकार गरिने छैन।
पुरस्कृत पुस्तकका लेखकले मानदेयस्वरूप पुस्तकका १०० प्रति प्राप्त गर्नेछन्। पाण्डुलिपिबाट तयार गरिने पुस्तकको लम्बाइ न्यूनतम २०० देखि अधिकतम २५० पृष्ठसम्म हुनुपर्नेछ।
इच्छुक लेखकहरूले आगामी वर्षको अक्टोबर ३० सम्ममा आफ्नो पाण्डुलिपि बुझाइसक्नुपर्नेछ। पाण्डुलिपि ए-४ आकारको कागजमा प्रिन्ट गराई, कम्तीमा तीनपटक प्रुफ हेरिसकेपछि प्रवेशपत्रसहित अकादेमीको कार्यालयमा बुझाउनुपर्नेछ। प्रतियोगिताका लागि नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिएका पाण्डुलिपि स्वीकार गरिनेछन्। सहभागी हुन एक हजार रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।
अकादेमीका अनुसार, यस प्रतियोगितामा सहभागी पाण्डुलिपिहरू आगामी वर्षको प्रतियोगिताका लागि योग्य हुने छैनन्। लेखक, शिक्षक, शोधकर्ता, विद्यार्थी तथा अन्य पेसामा संलग्न व्यक्तिहरूले पनि यसमा सहभागिता जनाउन सक्नेछन्।
पीएचडी शोधकार्यलाई पुस्तकका रूपमा प्रकाशित गर्न चाहनेहरूले समेत आवेदन दिन सक्नेछन्। तर, त्यस्ता शोधकार्यलाई पुनर्लेखन गरी पुस्तक प्रकाशनयोग्य बनाउनुपर्नेछ। पूर्णतः प्राज्ञिक शैलीमा लेखिएका सामग्री भने स्वीकार गरिने छैन।
अकादेमीले पुरस्कृत पाण्डुलिपि पनि निर्धारित मापदण्डअनुरूप नभएमा प्रकाशित नगरिने स्पष्ट पारेको छ। त्यस्तै, आफ्नो अप्रकाशित पाण्डुलिपि फिर्ता लिन चाहने लेखकले अकादेमीको कार्यालयमा उपस्थित भएर फिर्ता लैजान सक्नेछन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल