
खरसाङ, १४ अक्टोबर (हि.स.)। खरसाङको अप्पर डुमाराम बस्तीस्थित वार्ड नम्बर ३ मा रहेको श्री श्री श्री सात कन्या देवी मन्दिरमा दुर्गा पूजाको आयोजना गरिएको छ। धार्मिक आस्था, विश्वास र परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजित पूजा घटस्थापनाको दिनदेखि शुरु भएको हो। आयोजक समितिका अनुसार पूजाको समापन नवमीको दिन गरिनेछ।
पूजाको अवधिभर मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रमहरू सञ्चालन गरिनेछन्। प्रत्येक दिन दिउँसो पण्डितद्वारा विधिपूर्वक धार्मिक पाठ गरिनेछ भने साँझ साई मण्डलीहरूद्वारा भजनकीर्तन प्रस्तुत गरिनेछ। यसले भक्तजनहरूलाई धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै गाउँमा आध्यात्मिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
आयोजक समितिले विगत दुई वर्षदेखि निरन्तर रूपमा यस मन्दिरमा दुर्गा पूजाको आयोजना गर्दै आएको छ। स्थानीयवासीहरूको सहयोग र सहभागितामा सञ्चालन हुँदै आएको यस धार्मिक कार्यक्रमले गाउँमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
दुर्गा पूजाको मुख्य उद्देश्य धार्मिक आस्था र परम्पराको संरक्षण गर्नुका साथै गाउँमा शान्ति, सुख, समृद्धि र सकारात्मक वातावरण कायम रहोस् भन्ने कामना गर्नु रहेको आयोजक समितिले जनाएको छ।
यस अवसरमा सम्पूर्ण भक्तजनहरूलाई पूजामा सहभागी भई देवीको आशीर्वाद ग्रहण गर्न आयोजक समितिले आग्रह गरेको छ। मन्दिरका पुजारी शिवु छेत्री र कोषाध्यक्ष योगेन्द्र घिसिङले पत्रकारहरूसँग कुराकानी गर्दै यसबारे जानकारी दिएका हुन्।
हिन्दुस्थान समाचार / हनोक