
गान्तोक, 14 अक्टोबर (हि.स.)। पाकिमस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) को सम्मेलन कक्षमा पाकिमकी जिल्लापाल परी बिश्नोईको अध्यक्षतामा तथा पाकिमका पुलिस अधीक्षक छिरिङ शेर्पाको उपस्थितिमा जिल्ला सड़क सुरक्षा समिति (डीआरएससी) को बैठक सम्पन्न भएको छ।
बैठक अघिल्ला बैठकहरूमा गरिएका निर्णयको समीक्षाका साथ शुरु भयो, जसमा सड़क सुरक्षा उपायहरूको प्रगति र सम्बन्धित विभागद्वारा चालिएका कदमहरू समावेश थिए। अध्यक्षले निर्णयहरूको समयमै कार्यान्वयन र सुधारात्मक कदमका लागि जिम्मेवारी तोक्नुपर्ने कुरामा जोड़ दिए।
पाकिमकी जिल्लापालले जिल्लामा भएका सड़क दुर्घटनासम्बन्धी तथ्याङ्कको समीक्षा गरिन् र दुर्घटना रोक्न मादक पदार्थ सेवन गरी सवारी गुड़ाउने कार्यविरुद्ध कड़ा कारबाही गर्नुपर्ने आवश्यकतामा जोड़ दिइन्। समितिले दुर्घटनाको उच्च जोखिम भएका स्थान (ब्ल्याक स्पट) पहिचान गर्ने, सुधारात्मक उपायहरूको प्रभावकारिताको मूल्याङ्कन गर्ने तथा दुर्घटनाका कारण र मानवीय क्षतिसहित दुर्घटनाको प्रवृत्ति विश्लेषण गरी थप हस्तक्षेप आवश्यक पर्ने क्षेत्रहरू निर्धारण गर्ने उपायहरूबारे छलफल गर्यो।
बैठकमा ट्राफिक नियमहरूको पालना र घरीघरी देखिने कार्यान्वयनसम्बन्धी कमी-कमजोरीहरूलाई सम्बोधन गर्ने आवश्यकतासहित ट्राफिक व्यवस्थापन र नियम कार्यान्वयनका उपायहरूको पनि समीक्षा गरियो। विभिन्न विभाग र निकायहरूद्वारा सञ्चालित सड़क सुरक्षासम्बन्धी कार्यहरूको स्थितिबारे छलफल गर्दै तिनको समयमै सम्पन्नता र प्रभावकारी कार्यान्वयनमा जोड़ दिइयो।
समितिले सड़क पूर्वाधारमा रहेका कमी-कमजोरी जस्तै-सड़क सङ्केत, मार्किङ, बत्तीको व्यवस्था, पैदलयात्रीका लागि सुविधा, गार्डरेल र सड़क मिलनबिन्दु (जक्सन) को व्यवस्थापनलाई सम्बोधन गर्ने विषयमा पनि विस्तृत छलफल गर्यो। पुलिस, स्वास्थ्य र अन्य सम्बन्धित निकायहरूबीच राम्रो समन्वयमार्फत आपतकालीन प्रतिक्रिया र दुर्घटनापछिको व्यवस्थापनलाई सुदृढ़ बनाउनुपर्ने आवश्यकतामाथि पनि चर्चा गरियो।
बैठकमा सड़क प्रयोगकर्ताका विभिन्न वर्गका लागि सड़क सुरक्षासम्बन्धी जनचेतना र शिक्षा कार्यक्रमहरूबारे पनि कुरा उठाइयो। सड़क सुरक्षा उपायहरूको नियमित अनुगमन र सम्बन्धित विभागहरूबीच प्रभावकारी समन्वयमा पनि जोड़ दिइयो।
बैठकमा पाकिमका अतिरिक्त जिल्लापाल (मुख्यालय) सवीन्द्र राई, पाकिमको स्वास्थ्य तथा परिवार कल्याण विभागका सीएमओ डा. मदनमणि ढकाल, पाकिमका आरटीओ डीपी शर्मा र पाकिमका एमईओ सञ्जु प्रधानको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल