उत्तर कोरियाद्वारा पनडुब्बीबाट प्रक्षेपण गरिने दुई क्रुज मिसाइल परीक्षण
सांकेतिक


सियोल, १५ अक्टोबर (हि.स.)। उत्तर कोरियाले बुधबार पूर्वी सागरमा पनडुब्बीबाट प्रक्षेपण गरिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइलको परीक्षण गरेको छ। सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले बिहीबार यसबारे जानकारी दिएको हो।

केसीएनएको हवाला दिँदै दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहापले जनाएअनुसार, पानीमुनि सञ्चालन हुने हतियार प्रणालीहरूको वर्तमान तयारीको मूल्याङ्कन गर्नु यस परीक्षणको उद्देश्य थियो। समाचार संस्थाका अनुसार, यसबाट नौसेनाको रणनीतिक अभियान सञ्चालन गर्ने क्षमताको परीक्षण हुनुका साथै देशका प्रतिरोधात्मक हतियारहरूको विश्वसनीयता र प्रभावकारिता पनि प्रदर्शित भएको छ।

समाचारअनुसार, क्षेप्यास्त्र परीक्षणको निगरानी सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाको केन्द्रिय सैन्य आयोगका सदस्य किम जोङ-सिक, मासाइल प्रशासनका महानिर्देशक जाङ चाङ-हा तथा नौसेनाको पनडुब्बीमा आधारित हतियार प्रणालीसँग सम्बन्धित इन्जिनियरहरूले गरेका थिए।

उत्तर कोरियाले सोमबार प्योङयाङ क्षेत्रबाट पूर्वी सागरको दिशामा रणनीतिक ब्यालिस्टिक मिसाइल परीक्षण गरेको केही दिनपछि यो घटनाक्रम सार्वजनिक भएको हो। उत्तर कोरियाले मंगलबार उक्त परीक्षणको उद्देश्य एउटा महत्त्वपूर्ण मुख्य अवयवलाई प्राविधिक रूपमा उन्नत बनाउन गरिएको अनुसन्धानको सफलता पुष्टि गर्नु रहेको बताएको थियो।

हालै गरिएको क्रुज मिसाइल परीक्षणमार्फत उत्तर कोरियाले आफ्नो पनडुब्बीमा आधारित हतियार प्रणालीको तयारी परीक्षण गर्न जोड दिएको छ। यद्यपि, केसीएनएको प्रतिवेदनमा मिसाइलको मारक दूरी, परीक्षणका विस्तृत प्राविधिक नतिजा तथा प्रयोग गरिएको पनडुब्बीबारे कुनै जानकारी दिइएको छैन।


 rajesh pande