
विश्वनाथ (असम), २१ अक्टोबर (हि.स.)। असमभरि विजयादशमीका अवसरमा उत्साह र उमङ्गका साथ दुर्गापूजा सम्पन्न भएको छ। ढाकको ताल, नगारा र अन्य बाजागाजाको धुन तथा भजन-कीर्तनको वातावरणले चारैतिर उत्सवमय माहोल छाएको थियो। यसै क्रममा विश्वनाथ जिल्लाका विभिन्न पूजा मण्डपहरूमा पनि विजयादशमी हर्षोल्लासका साथ मनाइएको छ।
पुरोहितले वैदिक मन्त्र उच्चारण गर्दै विधिपूर्वक जलपात्रमा राखिएको ऐनामा माता दुर्गाको प्रतिबिम्बको विसर्जन गरेका थिए। यस अवसरमा श्रद्धालुहरूले माता दुर्गाको पूजा-अर्चना गरी आशीर्वाद ग्रहण गरेका थिए।
शारदीय दुर्गोत्सवको अन्तिम दिन विश्वनाथ चारिआली शहरको बौ बजारस्थित शिवाजी सङ्घको श्रीश्री दुर्गोत्सव पूजा समितिका मण्डपमा विशेष रूपमा विजयादशमीका परम्परागत धार्मिक विधिहरू पालना गरियो। यस अवसरमा महिला श्रद्धालुहरूले माता दुर्गाको पूजा-अर्चना गरेपछि एकअर्कालाई सिन्दूर लगाएर सिन्दूर खेला मनाएका थिए।
रातो र सेतो साडी तथा परम्परागत मङ्गलमय पहिरनमा सजिएका महिलाहरूको सिन्दूर खेलाले पूजा मण्डपलाई विशेष रौनक प्रदान गरेको थियो। परिवारमा सुख-शान्ति कायम रहोस् र पतिको दीर्घायु होस् भन्ने कामनासहित महिलाहरूले यस परम्परागत विधिमा सहभागिता जनाएका थिए।
दिउँसो २ बजीदेखि विश्वनाथ चारिआली शहरका विभिन्न पूजा समितिहरूले माता दुर्गाका प्रतिमाहरूलाई सवारीसाधनमा राखेर सहर परिक्रमा गराएका थिए। नाचगान र बाजागाजासहित निकालिएको शोभायात्रापछि ब्रह्मपुत्र नदीस्थित विश्वनाथ घाटमा माता दुर्गाका ९२ वटा प्रतिमा विसर्जन गरिएको थियो।
यस क्रममा श्रद्धालुहरूले भावुक हुँदै माता दुर्गालाई बिदाइ गरेका थिए। शिवाजी सङ्घका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरू पनि नाचगान गर्दै विश्वनाथ घाट पुगेका थिए। उनीहरूले माता दुर्गाको अन्तिम दर्शन गरी विधिपूर्वक नदीमा प्रतिमा विसर्जन गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी