
नुह (हरियाणा), २१ अक्टोबर (हि.स.)। विपद् तथा आपत्कालीन परिस्थितिमा राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले हरियाणाको नुह जिल्लामा १५० युवा स्वयंसेवकलाई प्रशिक्षित गरिने भएको छ। बुधबार उपायुक्त अखिल पिलानीले तिरङ्गा पार्कनजिकै रहेको मङ्गला राव सामुदायिक केन्द्रमा आयोजित सातदिने विपद् व्यवस्थापन प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे। युवा विपद् मित्र योजनाअन्तर्गत आयोजित यस कार्यक्रममा जिल्लाका पाँच महाविद्यालयका राष्ट्रिय सेवा योजना (एनएसएस)सँग आबद्ध १५० स्वयंसेवक सहभागी भइरहेका छन्।
यस अवसरमा उपायुक्त अखिल पिलानीले विपद्का बेला प्रारम्भिक सहायता र शीघ्र प्रतिक्रिया अत्यन्त महत्त्वपूर्ण हुने बताए। यस्तो अवस्थामा प्रशिक्षित युवा स्वयंसेवकले जिल्ला प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरेर राहत र उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले बताए।
उनले युवा विपद् मित्र योजनाको उद्देश्य युवालाई आपत्कालीन परिस्थितिको सामना गर्न आवश्यक सीप प्रदान गर्नुका साथै उनीहरूमा सामाजिक उत्तरदायित्व र सामुदायिक सुरक्षाको भावना विकास गर्नु रहेको बताए।
बाढी, आगलागी, दुर्घटना तथा अन्य आपत्कालीन परिस्थितिमा आवश्यक परेका मानिसलाई सहयोग गर्न सक्ने युवा स्वयंसेवकको टोली तयार गर्नु यस प्रशिक्षणको मुख्य उद्देश्य रहेको छ। साथै, सङ्कटका बेला यी स्वयंसेवकले जिल्ला प्रशासन र आपत्कालीन प्रतिकार्य निकायलाई सहयोग पुर्याउन सक्नेछन्।
यो कार्यक्रम भारत सरकारको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)को प्रायोजन तथा जिल्ला विपद् व्यवस्थापन प्राधिकरण, नुहको आयोजनामा सञ्चालन भइरहेको छ। यसमार्फत जिल्लाको सामुदायिक तहमा विपद् व्यवस्थापनको तयारीलाई सुदृढ बनाउनुका साथै आपत्कालीन परिस्थितिमा समयमै सहायता उपलब्ध गराउन युवाहरूको क्षमता अभिवृद्धि गर्ने कुरामा जोड दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी