मोदी सरकारले कुनै पनि राष्ट्रविरोधी षड्यन्त्रलाई सफल हुन दिने छैनः भाजपा
डॉ सुधांशु त्रिवेदी मीडिया से बात करते हुए


नयाँ दिल्ली, २१ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले विपक्षी दलहरू तथा विभिन्न आन्दोलनसँग सम्बन्धित समूहहरूमाथि निशाना साध्दै केही शक्तिहरूले भारतको प्रगति रोक्ने, समाजमा विभाजन सिर्जना गर्ने तथा भारतीय संस्कृति र धर्मप्रति घृणा फैलाउने उद्देश्यका साथ काम गरिरहेको आरोप लगाएको छ। पार्टीले मोदी सरकारले राष्ट्रविरुद्धका यस्ता कुनै पनि षड्यन्त्रलाई सफल हुन नदिने बताएको छ।

भाजपाका राष्ट्रिय प्रवक्ता तथा राज्यसभा सदस्य डा. सुधांशु त्रिवेदीले बुधबार सञ्चारमाध्यमसँग कुरा गर्दै विजयादशमीका अवसरमा प्रधानमन्त्रीले देशलाई यस्ता शक्तिहरूप्रति सचेत गराएको बताए। उनका अनुसार, यस्ता शक्तिका तीन प्रमुख उद्देश्य छन्- सत्ताको दुरुपयोग गरी व्यक्तिगत लाभ र लुटपाट गर्नु, समाजमा आपसी मतभेद सिर्जना गर्नु तथा भारतीय संस्कृति र धर्मप्रति घृणा फैलाउनु।

विदेश भ्रमणपछि दिइने केही राजनीतिक अभिव्यक्तिको उल्लेख गर्दै डा. त्रिवेदीले कहिले विदेशबाट फर्किएपछि ‘हाइड्रोजन बम’ विस्फोट गराउने कुरा गरिने त कहिले ‘सुनामी’ आउने दाबी गरिने बताए। उनले शिवसेना (यूबीटी) का नेता सञ्जय राउतका अभिव्यक्तिलाई पनि यसै सन्दर्भसँग जोडेर हेरे। यस्ता अभिव्यक्तिपछाडि अज्ञात तथा शङ्कास्पद शक्तिहरू हुन सक्ने आशङ्का व्यक्त गर्दै उनले सीमापारिबाट भारतमा अशान्ति सिर्जना गर्ने प्रयास भइरहेको हुन सक्ने बताए।

रामायणको उदाहरण दिँदै भाजपा प्रवक्ता त्रिवेदीले माता सीताको हरण गर्न रावण साधुको भेषमा आएको स्मरण गराए। त्यसैगरी, उनका आरोपअनुसार केही शक्तिहरूले आफ्ना वास्तविक उद्देश्य लुकाएर विभिन्न रूप धारण गरी काम गरिरहेका छन्।

भाजपा सांसदले यस्ता गतिविधिको उद्देश्य सार्वजनिक रूपमा उठाइने मुद्दाहरूमा मात्र सीमित नरहेको दाबी गरे। उनका अनुसार, हिंसात्मक द्वन्द्व र सुनियोजित षड्यन्त्रमार्फत सत्ता परिवर्तन अर्थात् ‘रेजिम चेन्ज’ गराउने प्रयाससमेत भइरहेको छ। उनले यस्ता कथित प्रयासपछाडिका वास्तविक उद्देश्य बुझ्न देशवासीलाई आग्रह गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande