तामसाङमा आगलागी हुँदा सन्जी तामाङको घर पूर्ण रूपमा नष्ट
जोरबङलो सुखे पोखरी खण्ड अन्तर्गत तामसाङ गोदामधुरामा एक घर जलेर नष्ट


दार्जिलिङ, २४ अक्टोबर(हि.स.)। जोरबङलो-सुकियापोखरी खण्डअन्तर्गत परमागुढी तामसाङ ग्राम पञ्चायतको तामसाङ गोदामधुरा निवासी सन्जी तामाङको घरमा शुक्रबार राति अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीमा घरभित्र रहेका सम्पूर्ण सरसामानसमेत जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन्।प्राप्त जानकारीअनुसार, आगलागीको खबर पाएलगत्तै गाउँलेहरू घटनास्थलमा भेला भई आगो अन्यत्र फैलिन नदिन प्रयासमा जुटेका थिए। यसैबीच, बिजनबारी अग्निशमन विभागको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएको थियो। अग्निशमन टोलीले घटनासम्बन्धी विस्तृत प्रतिवेदनसमेत तयार पारेको बताइएको छ।उक्त घरमा परिवारका सदस्यहरूसँगै तामसाङ डाक विभागको कार्यालयमा कार्यरत एक कर्मचारी पनि बस्दै आएकी थिइन्।आगलागीका कारण परिवारका सदस्यहरूको व्यक्तिगत सरसामानका साथै डाक विभागकी कर्मचारीका सरसामान र विभागीय कागजपत्रसमेत जलेर नष्ट भएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande